नेतृत्वका लागि नेतात्रयको नयाँ रणनीति

0

काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले ‘बाँचुन्जेल राजनीतिमा सक्रिय हुने’ घोषणाका साथ पोखराबाट देशव्यापी अभियान सुरु गरेका छन् । आगामी फागुनमा सम्पन्न हुने पार्टी महाधिवेशनपछि मुलुकमा अहिले देखिएको समस्या समाधान हुने र कांग्रेसले सरकारको नेतृत्वसमेत गर्ने भएका कारण नेतृत्वका लागि गम्भीर दाउपेच सुरु भएको छ । अघिल्लो महाधिवेशनमा एक कार्यकालका लागि भन्दै मत मागेका कोइराला आउँदो फागुनको तेस्रो साता हुन गइरहेको १३औं महाधिवेशनमा उम्मेदवार बन्छन् कि बन्दैनन् भन्ने कुरामा कांग्रेस वृत्तमा ठूलै बहस भइरहेका बेला गत साता पोखरा भेलामा सभापति कोइरालाले पुनः उम्मेदवार हुने दाबी गरेका छन् ।
पश्चिमाञ्चल विकास क्षेत्रका केही जिल्लाको भ्रमणका क्रममा सभापति कोइरालाले त्यो बहसलाई चिरेका हुन् । दलबलसहित कास्की, स्याङ्जा, पर्वतलगायतका जिल्ला पुगेका कोइरालाले औपचारिक रूपमा उम्मेदवारी  घोषणा नगरे पनि बाँचुन्जेल राजनीतिमा सक्रिय हुने बताए ।    पश्चिमाञ्चल विकास क्षेत्र उपसभापति रामचन्द्र पौडेलको विशेष प्रभाव क्षेत्र हो । त्यही क्षेत्रमा पौडेलले भर्खरै एक चरणको प्रचार अभियान सकेका थिए । सभापतिको उम्मेदवारी घोषणा गरिसकेका पौडेल जहाँ जहाँ पुगे, त्यहाँ त्यहाँ पछि पछि दलबलसहित पुगेर सभापति कोइरालाले बाँचुन्जेल राजनीतिमा सक्रिय हुन्छु भनेर घोषणा गर्नुको अर्थ हो, उनी सभापतिको उम्मेदवार बन्ने निश्चित जस्तै छ ।
उक्त दलबलको आर्थिक स्रोतको चाँजोपाँजो मृदुला कोइरालाले मिलाएकी छन् । लामो समयसम्म अमेरिकामा व्यवसाय गरी राम्रै आर्थिक उपार्जन गरेकी मृदुला सुशील प्रधानमन्त्री हुँदा अवैतानिक सल्लाहकारका रूपमा बालुवाटारमा हालिमुहाली गर्दा पोखरा एयरपोर्ट विस्तारको कमिसनको खटन–पटन उनकै थियो । करिब २० महिना बालुवाटारको हर्ताकर्ता भएर बसेकी मृदुला आफैं पनि केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्ने तयारीमा लागेकी छन् । उक्त टोलीमा निवर्तमान राष्ट्रपति डा.रामवरण यादवका छोरा डा.चन्द्रमोहन यादव, डा.शशांक कोइराला, महेश आचार्यलगायतका नेताहरूसमेत सामेल थिए ।
सबैजसो कार्यक्रममा महेश आचार्यले सभापति पदमा फेरि पनि कोइरालाको विकल्प नभएको लामो अवधारणा प्रस्तुत गरेका थिए । शशांक भने कुनै पनि कार्यक्रममा बोलेनन् । गत बुधबार पोखरा, बिहीबार स्याङ्जा र शुक्रबार पर्वत हुँदै काठमाडौं फर्केको सभापति कोइरालाको उक्त टोली छिट्टै मध्यपश्चिम र सुदूरपश्चिम जाने भएको छ । रामचन्द्र पौडेलले मध्य र सुदूरपश्चिमको एक चरणको अभियान हालै सम्पन्न गरिसकेका छन् । ‘वास्तविक उमेरअनुसार ७४ वर्ष नाघिसकेका पौडेलले ‘अभि नही तो कभी नही’ भन्दै निकै आक्रामक ढंगले चुनावी अभियान सुरु गरेका छन् ।
पछिल्लो चरणमा उनको चुनावी अभियान सुशील कोइरालाविरुद्ध मात्रै होइन, कोइरालाको वंश सत्ताविरुद्ध नै केन्द्रित देखिएको छ । पौडेलले अब वंश परम्पराका आधारमा कांग्रेस नचल्ने भन्दै लुम्बिनी अञ्चलका केही जिल्लामा भाषण नै गरेपछि सभापति कोइरालाले टेलिफोन नै गरेर चेतावनी दिएका थिए । समाचार स्रोतका अनुसार उपसभापति पौडेलले पाल्पाको एउटा कार्यक्रम सकेर चिया खानै लाग्दा सभापति कोइरालाको टेलिफोन घन्टी बजेको थियो । यसक्रममा कोइरालाले निर्देशनको शैलीमा भने, ‘कसरी जाने भनेर सल्लाह नै भएको छैन, आफैं आफैं उम्मेदवार हुँ भन्दै हिँड्न तपाईले मिल्छ ? यो काम तुरुन्त रोक्नोस् ।’ तर पौडेलले खासै जवाफ दिएनन् । उक्त टेलिफोेन संवादपछि पौडेलले आफ्ना निकटस्थहरूसँग भने, ‘अझै भाँजो हाल्न खोज्दैछन्, यसरी कहाँ हुन्छ ?’
समाचार स्रोतका अनुसार सभापति कोइरालाले पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला दुवैले अर्घेल्याइँ गरेको बताउँदै अब दुवैलाई छाडेर अघि बढ्ने रणनीति बनाएका छन् । पश्चिमाञ्चलको भ्रमणमा जानुअघि  उनले आफ्नो पारिवारिक सल्लाह पनि गरेका थिए । उनले सुजाता, शेखर, शशांकलाई एक्ला एक्लै भेटेर लामो सल्लाह लिएका थिए । तर सुजातासँगको सल्लाह अलि चर्कै भएको थियो । समाचार स्रोतका अनुसार  सुजाताले भनेकी थिइन, ‘तपाईँसँग धेरै मान्छे चिढिएका छन्, सबैले साथ छाड्दै गएका छन्, कुनै हालतमा पनि जित्नु हुन्न, मलाई उम्मेदवार बनाउनुस्, म जित्छु, होइन भने देउवाले जित्छ ।’ धेरै बेरसम्म चुप लागेर बसेका सुशीलले अन्तिममा भने, ‘तिमी केटाकेटी कुरा नगर, मैलेबाहेक देउवालाई कसैले जित्न सक्दैन, म उठिनँ भने पार्टी नेतृत्व हाम्रो हातबाट फुत्कन्छ ।’ हातमा आइसकेको राष्ट्रपति पद आफूले छाड्नुको पछाडिको कारण देउवालाई जित्न सक्ने फिगर अर्को नभएकैले हो भन्दै सभापति कोइरालाले भने, ‘म राष्ट्रपति बन्न छाडेर पार्टी सभापति पदमा फेरि उम्मेदवार बन्न तयारी गरेको तिमीहरूकै लागि हो, म सभापति निर्वाचित भएपछि मैले तिमीहरूलाई नै स्थापित गर्ने हो, त्यसैले तिमी चुप लागेर संगठनतिर लाग ।’
सभापति कोइराला आफू मात्र देश दौडाहमा लागेका छैनन्, आफ्ना निकटस्थ र केही मनोनीत युवा केन्द्रीय सदस्यहरूलाई समेत खटाएका छन् । खासगरी मृदुलाको आर्थिक लगानीमा नेविसंघका पूर्वअध्यक्षसमेत रहेका युवा केन्द्रीय सदस्यहरूलाई सभापति कोइरालाले परिस्थिति बुझ्न देशव्यापी परिचालन गरेका छन् । तर उनीहरूको प्रारम्भिक रिपोर्ट कोइरालाका लागि उत्साहजनक छैन । पौडेललाई चित्त बुझाउन नसके देउवाले पहिलो चरणमै ५१ प्रतिशत मत कटाउने प्रारम्भिक रिपोर्ट आएपछि सभापति कोइरालाले टेलिफोन गरी उपसभापति पौडेललाई हकारेका हुन् ।
हाल देउवाको पक्षमा ५० प्रतिशत पुग नपुग अवस्था रहे पनि संस्थापन पक्षबाट दुईजना उम्मेदवार भएको अवस्थामा चुनाव जित्ने देउवालै नै हो, हार्ने ठाउँमा किन मत दिने ? भन्दै तटस्थ कार्यकर्ताहरू दोधारमा परे भने प्रत्युत्पादक हुने सल्लाह सभापति कोइरालालाई धेरैले दिएका छन् । तर केहीले भने पौडेलले देउवाका पनि केही मत काट्ने भएकाले पहिलो चरणमा देउवाले बहुमत पु¥याउन नसक्ने र दोस्रो चरणमा पौडेलको मत ल्याएर बहुमत पु¥याउन सकिने सल्लाह कोइरालालाई दिएका छन् । तर पौडेलको हैसियत कोइराला परिवारले विश्लेषण गरेजस्तो कमजोर छैन ।    देउवा र पौडेल मिल्न सक्ने सम्भावना पनि त्यत्तिकै छ । कोइराला परिवारको वंश सत्ताबाट पार्टीलाई मुक्त गर्ने भनाइ पौडेलले अघि सारेका कारण कोइराला परिवार धेरै नै सशंकित बनेको हो । यही ढंगमा पौडेल अघि बढिरहे भने र पहिलो चरणमै देउवाको बहुमत आउने अवस्था भयो भने कोइराला पछि हट्ने सम्भावना पनि छ ।
समाचार स्रोतका अनुसार यस्तो अवस्थामा सभापति कोइरालाले आफू पछि हट्ने र देउवा र पौडेल दुवैजनाको टिममा आफ्ना परिवारका अन्य नेताहरूलाई पठाएर १४औं महाधिवेशनका लागि पारिवारिक विरासत सुरक्षित गर्ने रणनीति पनि बनाउन सक्नेछन् । रामचन्द्रसँग कोइराला परिवार पहिलेदेखि नै खुसी छैन । तर उनलाई सभामुखदेखि पार्टीको महामन्त्री, उपसभापति र संसदीय दलको नेतासम्म बनाइदिएको कोइराला परिवारले नै हो । त्यसैले कोइराला परिवारबाट विद्रोह गरेको रामचन्द्र भन्दा देउवा नै ठिक भन्ने निचोडमा सुशील कोइराला पुगेको अवस्थासमेत छ ।   यतिबेला कोइराला पहिलो चरणमै देउवाको ५१ प्रतिशत मत पुग्छ कि ? पुग्दैन ? भन्ने जोड–घटाउमा लागेका छन् । के गर्दा देउवाको पहिलो चरणमा ५१ प्रतिशत मत पुग्दैन, त्यही रणनीति अपनाउने तयारीमा कोइराला परिवार लागेको देखिएको छ ।
गत महाधिवेशनमा ५४ प्रतिशत मत हासिल गरेको कोइराला पक्षमा ठूलै विवाद रहेको र ४६ प्रतिशत मत प्राप्त गरेको देउवा पक्ष एकढिक्का रहेको मात्रै होइन, कोइराला पक्षका केही हस्तीहरूले समेत क्याम्प परिवर्तन गरेको अवस्था छ । यो अवस्थामा देउवाले ६० प्रतिशत मत ल्याउन सक्ने सम्भावना नांगो आँखाले नै देखिएको छ । यति हुँदाहुँदै पनि वरिष्ठ नेता शेरबहादुर देउवा बृहत् समीकरणको अभियानमा छन् ।
चुनाव जित्ने मात्रै नभएर भोलि पार्टीलाई समेत आधुनिक ढंगबाट अघि बढाउनुपर्ने भएकाले देउवा बृहत् समीकरणको अभियानमा लागेका हुन् । हिजोका दिनमा भड्किएर कोइरालातिर लागेका आफ्ना पूर्वसहयोगीहरू प्रकाशमान सिंहदेखि बलबहादुर केसीसम्म र कोइराला पक्षमै रहेर पनि मेहनतका साथ संगठन अघि बढाइरहेका रामचन्द्र पौडेलदेखि कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीदेखि डा.रामशरण महत, पारिवारिक इतिहास बोकेका सुजाता कोइरालादेखि शशांक, शेखर कोइरालासम्मका नेताहरू आफ्नै टिममा अटाउने गरी देउवाले गृहकार्य सुरु गरेका छन् । यो गृहकार्यको जिम्मा लिँदै विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, मानवबहादुर विश्वकर्मा, डा.प्रकाशशरण महत, गोपालमान श्रेष्ठलगायतका नेताहरू फिल्डमा खटेका छन् ।

Leave A Reply

Your email address will not be published.