मितेरी पुलबाट मोर्चाका कार्यकर्ता फेरि लखेटिए

0

वीरगञ्ज । वीरगञ्ज-रक्सौल नाका ठप्प पार्न मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ताहरुलाई व्यापारीहरुले लखेटेका छन् । भारतको रक्सौलबाट सामान लिएर आएका ब्यापारीहरुले धर्नाकारीहरुलाई नाकाबाट लखेटेर बुधबार राति सामान नेपालतर्फ पास गराउन सफल भएका छन् । धर्नारत मधेसी मोर्चाका कार्यकर्ताहरुले रक्सौलबाट ठेला र टाँगामा ल्याइएका सामान नेपालतर्फ ल्याउन नदिएपछि ब्यापारीहरु जाइ लागेका थिए ।
बढ्दो चिसो र आन्दोलनप्रति घट्दो जनसमर्थनका कारण मितेरी पुलमा सानो संख्यामा रहेका धर्नाकारीहरुमाथि व्यापारीहरु जाइ लागेपछि उनीहरु भागेका थिए । मधेसी मोर्चाको नाकाबन्दीका कारण भारतबाट नेपालतर्फ सामान पास गराउन नपाएका दुबै देशका ब्यापारीहरु मिलेर धर्नकारीमाथि आक्रमण गरेको बताइएको छ । धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ताहरुले भने आफूहरुमाथि तस्करहरुले आक्रमण गरेको दाबी गरेका छन् ।
व्यापारीहरुले नेपालतर्फ सामान ल्याउने समयमा मितेरी पुलमा मोर्चाका करिब १५ जना मात्रै कार्यकर्ता धर्नारत थिए । व्यापारीहरुले धर्नारत संघीय समावेसी युवा गठबन्धन पर्सा संयोजक ईश्वर यादवसहित कार्यकर्ताका मोटरसाइकल र अन्य सवारीसाधन पनि तोडफोड गरिदिएका छन् । धर्नारत नेता कार्यकर्ताहरुका अनुसार शुरुमा सामान लिएर आएका करिब २० जनाको समूहलाई रोकेपछि आक्रोशित उनीहरुको समूह मध्यरातमा करिब डेढ सयजनाको संख्या आएर आक्रमण गरेका हुन् ।
आफ्नो अनुहार छोपेर आएका समूहले मोर्चाका कार्यकर्तलाई कुटपिट गर्दै नेपाल तर्फ सामान पास गरेका थिए । व्यापारीहरुले सामान पास गराएलगत्तै मोर्चाका कार्यकर्तारुहरु पुन त्यहीँ धर्ना बसेका छन् । व्यापारीहरुले मितेरी पुलमा मोर्चाका कार्यकर्ताहरुले राखेको बाँसको ढाट फालिदिएर सामान नेपालतर्फ ल्याएका थिए ।

Leave A Reply

Your email address will not be published.