युरोपमा आतङ्ककारी आक्रमणको अझै त्रास

0

ब्रसेल्स । पेरिसमा गत महिना भएको आतङ्ककारी आक्रमणका कारण युरोपका केही देशमा त्रास अझै कायम रहेको पाइएका समाचार प्राप्त भएका छन् । ती देशमा असुरक्षाको चर्चा बढिरहेको भन्दै आतङ्ककारी हमलाको त्रासले युरोपेली क्षेत्रका अधिकांश देशलाई छोएको बताइएको छ ।
पेरिसमा गत नोभेम्बर १३ मा आतङ्ककारी हमला भएको थियो । फ्रान्समा सो हमला सन् २०१५ मा नै दोस्रो पटक भएको हो । यसरी एकै वर्षमा दोहो-याएर पेरिसमा आतङ्कवादी हमला भएकाले त्यहाँ त्रास छाएको हो । सन् २०१५ कै जनवरी महिनामा पेरिसको एक पत्रिका कार्यालयमा हमला भएको थियो । सो हमलामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको थियो ।
मुस्लिम अतिवादी समूह, आइएसले सो हमला गरेको जिम्मेवारी लिएसँगै युरोपका अरू देशमा पनि हमला गर्ने उनीहरूको योजना रहेको अनुमानका आधारमा त्यस्तै खालका सुरक्षा मापदण्ड पनि अपनाइएको छ । पेरिस हमलाको योजना बेल्जियममा बनाइएको र केही हतियार उनीहरुले जर्मनीमा किनेकोले गर्दा पनि यसको जालो विभिन्न युरोपेली देशमा फैलिएको अनुमान गरिएको हो ।
युरोपमा पछिल्लो समयमा आतङ्ककारी क्रियाकलाप बढ्दै गएको र त्यसमा निकै नै सजगता अपनाउनुपर्ने बताउँदै आइएको छ । युरोपमा नै आतङ्कवाद छिरेको भन्दै यसको निवारण र नियन्त्रणका लागि अहिलेको भन्दा अझै शक्तिशाली कारबाही अघि बढाउनुपर्ने धारणा हालैमात्र जर्मन चान्सलर एन्जेला मार्केलले पनि राख्नुभएको थियो ।
साथै उहाँले आइएसका विरुद्ध लड्न सबै युरोपेली राष्ट्रले कडा सुरक्षा व्यवस्था अपनाउन र युरोपेली राष्ट्रहरूले प्रभावकारी मापदण्डका साथ काम गर्न पनि आग्रह गर्नुभएको थियो । अर्कातर्फ मध्यपूर्वीलगायत विश्वका विभिन्न देशमा पछिल्लो समयमा हिंसा र आन्तरिक द्वन्द्व बढ्दै जाँदा युरोप छिर्ने शरणार्थीको सङ्ख्यामा पनि विगतका तुलनामा निकै ठूलो मात्रामा वृद्धि हुँदै गएको छ ।
यसका कारण पनि यो सुरक्षा व्यवस्थालाई थप चुस्त बनाउन सबैको ध्यानाकार्षण भएको छ । तर संयुक्त राष्ट्रसङ्घले यो अशान्तिका कारण युरोपमा प्रवेश गरिरहेका आप्रवासीलाई उनीहरुको आप्रवासनको अधिकारबाट बञ्चित नगराउन आग्रह गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.