हामी सबैको सरोकार नाराका साथ कामदारको दिवस मनाइयो

0

विदेश गएर काम गरेका व्यक्तिहरुले आफ्नो हक हितको माग तथा कामदारको पीडालाई स्मरण गर्दै आज विश्वभर १६औँ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको छ । आप्रवासी दिवसका अवसरमा श्रम तथा रोजगार मन्त्रालयले ‘सुरक्षित वैदेशिक रोजगार हामी सबैको सरोकार’ भन्ने मूल नाराका साथ आज पदयात्रा गरेको छ । यस्तै वैदेशिक रोजगारको सम्मान, विदेशी कामदारमाथि हुने हिंसाको अन्त्य, ठगी प्रवृत्तिको अन्त्य गर्नुपर्ने, आप्रवासन सुरक्षित गर्न माग गरिएको थियो ।
सन् १९९० मा संयुक्त राष्ट्रसङ्घले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसङ्घले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवास दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सो दिवस मनाउन थालिएको हो ।
कोरियामा काम गरेर स्वदेश फर्कनुभएका भूपेन्द्र खत्रीले विदेशमा सिकेको कामलाई नेपालमा उपयोग गरेर देश विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “मैले कोरियामा काम गरी नेपाल आएर पर्यटन विकासको क्षेत्रमा लागेको छु यसबाट भएको आम्दानीको केही प्रतिशत रकम समाजसेवामा खर्चन्छु ।”
खत्रीले आफूले स्वदेशी खानाको प्रवद्र्धन र नेपालको संस्कृति चिनाउन कास्की, गोरखा, धादिङलगायत जिल्लामा होमस्टे सञ्चालन गरेको जानकारी दिनुभयो ।
यस्तै १० वर्ष खाडी मुलुकमा काम गरेर नेपाल पर्कनुभएकी मुना गौतम पनि विदेशमा गर्ने श्रम नेपालमा गरे मुलुक विकासमा ठूलो सहयोग पुग्ने बताउनुहुन्छ । उहाँले विदेशमा कामदारलाई थोरै पैसा दिएर धेरै समय काम लगाउने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ – “सरकारसँग स्पष्ट नीति नहुने भएको नीति पनि कार्यान्वयन नहुँदा आप्रवासी कामदार ठूलो मर्कामा परेका छन् ।”
वैदेशिक रोजगारीमा जाँदा लागत खर्चभन्दा अत्यधिक रकम कामदारसँग असुल्ने, भनेअनुसारको काम र तलब नपाउने, कठिनपूर्ण काममा लगाइने, अभिमुखीकरण तालिम नदिई प्रमाणपत्र मात्रै दिने, स्वास्थ्य परीक्षणमा लापर्बाही गर्नेजस्ता समस्या देखापरेको कामदारहरु बताउँछन् ।
विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम मानवअधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस मनाइने गरेको हो ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यले आप्रवासी दिवसका अवसरमा विदेशमा काम गरेर आएका मान्छेमात्र समेट्नुभन्दा काम गर्न जान लागेका र मेनपावर कम्पनीका मानिसलाई समेटे आप्रवासी कामदार दिवस मनाउनुको सार्थक रहने बताउनुहुन्छ ।
उहाँले विदेशमा गएका कामदारको शोषण देशबाट सुरु भएकोे बताउँदै भन्नुभयो – “नीति बनाउँदा, कर्मचारी, पठाउने संस्था, तालिम दिने संस्था र स्वास्थ्य परीक्षणमा समेत शोषण गरेका छौँ ।” आचार्यले दिवसका रुपमा मात्र नभएर ठगीलाई रोक्ने वार्षिक अभियानका रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो ।
उहाँले आगामी एक वर्षमा निःशुल्क भिसा निःशुल्क टिकटलाई लागू गर्ने, अनलाइन प्रक्रिया सुरु गर्ने र लागू गर्ने, स्वदेशमा रोजगारी सिर्जना गर्ने कुरालाई प्राथमिकता दिने, व्यावसायिक तालिम परिषद् (सिटिभिटी) मार्फत विदेशमा काम गरेर आएका कामदारलाई सीपको आधारमा प्रमाणपत्र दिने कामलाई मन्त्रालयले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विदेशमा बस्ने आप्रवासी नेपालीले निर्वाचनमा मतदान हाल्ने प्रक्रिया कसरी सकिन्छ भन्ने बारेमा निर्वाचन आयोगसँग छलफल गर्ने आचार्यले बताउनुभयो । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा विभिन्न सङ्घसंस्थाले आज भृकुटीमण्डपदेखि पद्मोदय मोड, पुतलीसडक, बागबजार, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपसम्म पदयात्रा गरेको थियो ।

Leave A Reply

Your email address will not be published.