डा. बाबुरामको पार्टीमा को–को ?

0

नयाँ राजनीतिक शक्ति गठनको अभियानमा जुटेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो अभियानमा चार बुँदे सहमति जुटाएका छन् । विभिन्न व्यक्तित्वसँगको छलफलमा यस्तो सहमति जुटेको भट्टराईको सचिवालयले विज्ञप्तिमार्फत जनाएको हो । भट्टराईको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ विचार, राजनीति, सुसंस्कार, संस्कृतिसहितको वैकल्पिक राजनीतिक शक्तिको सोच राख्ने शक्ति तथा व्यक्तिहरुबीच छलफल सम्पन्न भयो ।’
छलफलमा सहभागीहरुले वैकल्पिक विचार, सुसंस्कार, संस्कृतिसहितको वैकल्पिक राजनीतिक शक्तिको खाँचो छ भन्नेकुरामा सहमति जनाएको सो विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, वैकल्पिक राजनीतिक विचार राख्नेहरुको बीचमा सहकार्य र सहयोगको आवश्यकता छ भन्ने कुरामा सहमति जनाउँदै सहभागीहरुले वैकल्पिक राजनीतिक विचार राख्नेहरुबीचको सहकार्यमा जोड दिएका छन् । उनीहरुले वैकल्पिक राजनीतिको मूल उद्देश्य सदाचारसहितको राजनीति, देशको विकास र समृद्धि हो भन्नेमा पनि सहमति जनाएका छन् ।
उनीहरुले वैकल्पिक राजनीतिक शक्ति निर्माणका निम्ति सबै शक्ति, व्यक्ति र आम जनतासँग यो प्रक्रियामा सहभागिताका निम्ति आग्रहसमेत गरेका छन् । यस्तो सहमति जनाउनेमा नेपाली कांग्रेसका सांसद प्रदीप गिरीसमेत छन् ।
सहमति जनाउने अन्यमा पूर्व सचिव रामेश्वर खनाल, विवेकशील नेपालीका अध्यक्ष उज्वल थापासहित गोविन्दनारायण तिमल्सिना, रमेश पौड्याल, अभिषेक बस्नेत, पुकार बम, जीवन श्रेष्ठ, अनुषा थापा रहेका छन् । त्यस्तै डा. केशवमान शाक्य, पासाङ शेर्पा, तिलक थापामगर, डा. प्रविण मिश्र, अभिनेता सरोज खनाल र अनुसन्धानकर्ता भाष्कर गौतम पनि उक्त सहमतिकर्तामा सामेल छन् ।

Leave A Reply

Your email address will not be published.