स्मार्टकार्ड अनुमतिपत्र वितरण पुस २ गतेदेखि

0

काठमाडौँ, २७ मङ्सिर । यातायात क्षेत्रमा हुने अनियमितता र ढिलासुस्ती रोक्ने उद्देश्यले यातायात व्यवस्था विभागले लागू गरेको स्मार्टकार्ड चालक अनुमतिपत्र पुस २ गते बिहीबारदेखि वितरण हुने भएको छ । मङ्सिर २० गतेदेखि यो प्रणालीअनुसार तस्बिर खिचेर फारम भरी परीक्षा पास गरेकालाई पुस २ गतेदेखि स्मार्टकार्ड प्रविधिको चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका निर्देशक एवम् प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो ।
एसियाली विकास बैंकको सहयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रत्यक्ष निगरानीमा सञ्चालित सूचना तथा सञ्चार प्रविधि विकास आयोजनाको सहकार्यमा विभागले यो प्रणाली शुभारम्भ गरेको हो ।
विसं २०७० असोजदेखि काम सुरु गरेको आयोजनाको गृहकार्यपछि विभागले एक साता अगाडिबाट हस्तलिखित चालक अनुमतिपत्रका स्थानमा स्मार्टकार्ड वितरण प्रक्रिया सुरु गर्ने र पाँच वर्षभित्रमा हस्तलिखित अनुमति पत्रलाई विस्थापन गर्ने घोषणा गरेको थियो ।
“स्मार्टकार्ड चालक अनुमतिपत्र बनाउन सेवाग्राहीलाई हस्त लिखितभन्दा सुविधा हुन्छ, यो प्रणालीबाट बनेको अनुमतिपत्र बोक्नका लागि पनि सजिलो हुन्छ, यो प्रणाली सुरु गरेपछि यातायात क्षेत्रमा हुने अनियमितता घट्ने आशा गरिएको छ” –विभागका निर्देशक एवम् प्रवक्ता अधिकारीले रासससँग कुरा गर्दै भन्नुभयो ।
स्मार्टकार्डका लागि भरिने फारम पनि अब अनलाइनबाटै भर्न सकिने व्यवस्था गरिएको छ, यसका लागि यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा केही संशोधन गर्नुपर्ने विभागले जनाएको छ । संशोधनको प्रक्रिया पनि अघि बढेको उहाँले जानकारी दिनुभयो
वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट मङ्सिर २० देखि स्मार्टकार्ड चालक अनुमति पत्र वितरणका लागि प्रक्रिया सुरु भएको थियो । यसलाई छिटो अन्य कार्यालयमा पनि विस्तार गर्ने तयारी भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.