ओशोको ८५ औँ जन्मजयन्ती मनाइयो

0

काठमाडौं, २५ मंसिर । आध्यात्मिक जगत्मा प्रसिद्धी कमाउनुभएका ओशोको ८५ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । साङ्गीतिक र ध्यान साधनाको एवम् समसामयिक विषयमा प्रवचन गरी ओशो तपोवनमा ८५ औँ जन्मजयन्ती मनाइएको हो । कार्यक्रममा प्रवचन गर्दै स्वामी आनन्द अरुणले पूरै विश्वलाई एउटै परिवार मान्ने वसुधैव कुटुम्बकमको दर्शनमा हुर्किएका नेपाली अहिले तराई र पहाडका नाममा टाढिनु नहुने बताउनुभयो ।
“जुन जिल्ला जहाँ परे पनि नेपालमै पर्ने भएकाले यति साना कुरामा विवाद गरेर जनतालाई दुःख दिनुहुन्न”– उहाँले भन्नुभयो । सन् १९३१ डिसेम्बर ११ का दिन भारतको मध्यप्रदेशस्थित राइसेन जिल्लामा ओशोको जन्म भएको थियो ।
किशोर अवस्थादेखि नै सामाजिक, धार्मिक र दार्शनिक प्रश्न सोध्ने स्वभावका ओशोले मार्च २१ सन् १९५३ बाट मोक्ष प्राप्त गरी आध्यात्मिक ज्ञान बाँड्न थाल्नुभएको थियो । सन् १९५७ मा दर्शन शास्त्रमा स्नातकोत्तर गरी उहाँले आफनो जीवन यही क्षेत्रमा अर्पण गर्नुभयो ।
कुनै पनि कुरा नछोडिकन आध्यात्मिक सुख प्राप्त गर्न सकिन्छ भन्ने सन्देश ओशोले दिनुभएको स्वामी अर्हत्ले जानकारी दिनुभयो । हाल नेपालको ओशो तपोवन विश्वमै प्रसिद्ध ध्यान साधना स्थलका रुपमा परिचित बन्दै गएको छ ।

Leave A Reply

Your email address will not be published.