आन्तरिक मामिलामा भारतीय हस्तक्षेप : नेता नेपाल

0

काठमाडौँ, १९ मङ्सिर । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय अखण्डता र सबै जाति, समुदायबीचको एकतामा असर पर्नेगरी कसैसँग पनि सम्झौता गर्न नसकिने बताउनुभएको छ । राजनीतिशास्त्री समाज, नेपालले आज यहाँ आयोजना गरेको ‘वर्तमान नाकाबन्दी र नेपाल–भारत सम्बन्ध’ विषयक अन्तक्र्रियामा उहाँले विगतमा केही गैरसरकारी संस्थाले जातीय र क्षेत्रीयताको विष रोपेका कारण अहिले मुलुकमा सोही भावना प्रतिबिम्बित भई समस्या आएको बताउँदै दोस्रो संविधानसभाको निर्वाचनले जातीय भावना बोकेका समूह तथा दललाई कमजोर बनाइदिएको बताउनुभयो ।
उहाँले भन्नुभयो –“अघोषित नाकाबन्दीले ५० प्रतिशत आपूर्ति घटेको छ, नेपाली जनजीवन प्रभावित भएको छ, नेपालको आन्तरिक समस्या टुङ्गो लगाउने काम हाम्रो हो, हाम्रो आन्तरिक मामिलामा भारतले प्रवेश गर्ने कुरा गलत छ ।”
आन्दोलनकारीले राखेका भौगोलिक रुपमा आत्मनिर्णयको अधिकार, जातीय अग्राधिकारलगायतका विषयमा कुनै सम्झौता गर्न नहुनेमा उहाँले जोड दिनुभयो । सांसद लालबाबुप्रसाद यादवले मधेसको समस्या हल गर्न प्रधानमन्त्रीले चाँडो आन्दोलनकारीलाई सम्बोधन गरी आश्वस्त पार्नुपर्ने सुझाव दिँदै नेपाल–भारतबीच सांस्कृतिक सम्बन्ध रहेकोले नाकाबन्दीका कारण चिसिएको सम्बन्धलाई कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
समाजका अध्यक्ष विजयबहादुर सिलवालले नाकाबन्दीका कारण उत्पन्न भएको परिस्थितिले दुवै देशलाई फाइदा नपुग्ने हुँदा समस्या समाधानका लागि बुद्धिजीवीका सुझाव सङ्कलन गरी अघि बढ्नुपर्ने बताउनुभयो । युवा सङ्घकी उपाध्यक्ष दिलु पन्तले नाकाबन्दीले दुवै देशलाई नोक्सान भएको भए पनि नेपालीलाई अलि धेरै प्रभाव परेको र तत्काल विकल्प खोज्नुपर्ने विचार व्यक्त गर्दै छिमेकी मुलुक भारतसँग पारस्परिक सम्बन्धका आधारमा मैत्रीपूर्ण व्यवहार गर्नुपर्नेमा जोड दिँदै नेपाली स्वाभिमानलाई आघात पु¥याएर झुक्न नसकिने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.