काठमाडौंमा बन्दको प्रभाव न्यून

0

काठमाडौं, १३ मंसिर । भारतले गरेको नाकाबन्दीविरुद्ध नेकपा माओवादी नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको असर देशको अरु भागमा परेपनि काठमाडौंमा भने खासै परेको छैन । सडकमा सावरी साधनहरु चल्न थालेका छन् । यद्यपि, बन्दकर्ताको त्रासका कारण विद्यालयहरु भने बन्द गरिएका छन् । यसबाट विद्यालय र शैक्षिक संस्थाहरुमा असर परेको छ । यता, रौतहटमा बन्द अवज्ञा गरेको भन्दै सुनसरीको चतराबाट बाँस लोड गरी काठमाडौं आउँदै गरेको एउटा ट्रकलाई पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिकाको जंगल क्षेत्रमा आगजनी गरिएको छ । आगजनीबाट ट्रक पूर्णरुपमा ध्वस्त भएको छ ।
यता, नेकपा माओवादीले आज बिहान कञ्चनपुरको भीमदत्तनगर बजारमा भारतीय नंको जिप तोडफोड गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चम्मन चोकबाट गड्डाचौकीतर्फ गइरहेको एचआर २६ जेड ०२२७ नंको भारतीय जिप माओवादीका कार्यकर्ताले यहाँस्थित विद्युत् कार्यालय नजिक तोडफोड गरेका हुन् । प्रहरीले जिप तोडफोड र यातायातमा अवरोध पु-याउँदै हिँडेका माओवादीका महाकाली इन्चार्ज देवीदत्त पाण्डेयसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रहरीलाई तोडफोड गरिएको जिपलाई सुरक्षा दिई नेपाल भारत सीमा क्षेत्र गड्डाचौकी पार गराएको छ । असुरक्षाको कारण देखाउँदै प्रहरीले कञ्चनपुरमा गुडिरहेका भारतीय सवारी साधनको सुरक्षामा विशेष चासो देखाएको छ । प्रहरीले बिहानैदेखि सुरक्षा सक्रियता बढाएको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तका अनुसार पश्चिमी नाका गड्डाचौकीबाट नेपाल आउने भारतीय सवारी साधनलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले बनबासा क्षेत्रमै रोकेको छ । माओवादीले भारतीय सवारी साधनलाई निसाना बनाउँदै तोडफोड गर्न थालेपछि एसएसबीले भारतीय सवारी साधनलाई सिमानामै नेपाल आउन रोकेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.