नेपालमा मानवीय संकट उत्पन्न हुने चिन्ता

0

काठमाडौं, ९ मंसिर । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार उच्चायोगले नेपाल—भारत सीमा क्षेत्रमा भईरहेको तनावका कारण मानवीय सङ्कट पैदा भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । नेपालीले पछिल्लो समयमा भोग्नुपरेको समस्याप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उच्चायोगले अत्यावश्यकीय सामान आपूर्तिका लागि सुरक्षित मार्ग उपलब्ध गराउन र मानवअधिकारको सम्मान गर्न समेत जोड दिएको छ ।
उच्चायोगका प्रवक्ता रविना सम्दासनीले  जारी गर्नुभएको विज्ञप्तिमा नेपालको पछिल्लो अवस्था सङ्कटपूर्ण रहेको र दैनिक जनजीवन कष्टकर भएको भन्दै वार्ता र सम्वादका माध्यमबाट समस्या समाधान गर्न सम्वद्ध पक्षलाई आग्रह समेत गर्नुभएको छ । विज्ञप्तिमा सरकार र आन्दोलनरत पक्षलाई संयमित हुन भन्दै मानवीय सङ्कटको समाधान खोज्न समेत आग्रह गरिएको छ ।
खाना पकाउने ग्यास, औषधि, अत्यावश्यकीय सामग्रीको भण्डारण सकिएको र मुलुकमा मानवीय सङ्कट बढेको उल्लेख गर्दै विज्ञप्तिमा मानवीय सङ्कट बढेको र त्यसले जनता र मुलुकलाई निकै ठूलो असर परेकाले समस्या समाधानमा लाग्न जोड दिइएको छ ।
अत्यावश्कीय सामग्रीको ढुवानी हुन नदिनु मानवअधिकारको गम्भीर उल्लङ्घन हो भन्दै उच्चायोगले अन्तर्राष्ट्रिय मानवीय कानुनको विपरीत हुने कुनै पनि गतिविधि नगर्न र निर्वाध बाँच्न पाउने अधिकारको हनन नगर्न र त्यसमा सबैको ध्यान जान जरुरी रहेकोमा ध्यानाकर्षण गराएको छ ।
नेपाल—भारत सीमाक्षेत्रमा रहेको अवरोध तत्काल हटाउन आवश्यक रहेको उल्लेख गर्दै विज्ञप्तिमा तराई मधेसमा बढ्दो हिंसाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । नेपालमा मानवीय सङ्कट पैदा भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले अन्तर्राष्ट्रिय सङ्घ संस्थालाई ध्यानाकर्षण गराउने यसअघि नै सार्वजनिक गरेको थियो ।
नेपालको तर्फबाट केही समय पहिले उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले अघोषित नाकाबन्दीका कारण मुलुक मानवीय सङ्कटमा फसेको अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनुभएको थियो । संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले पनि यसअघि नेपालमा मानवीय सङ्कट पैदा भएको उल्लेख गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.