नेपाली ब्यबसायी संघ बेल्जियमको आठौ अधिबेशन सम्पन्न भएकोछ। २७ अप्रिल सोमबार भएको नेबाबको आठौ अधिबेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थागत सुधारका नयाँ कार्ययोजना पारित गरेकोछ । लुभेन नगरपालिकाका उपमेयर दिर्क भंसेना, नेबाबका संस्थापक अध्यक्ष राधाकृष्ण अधिकारी र अध्यक्ष चिरन खवासले संयुक्त रुपमा उद्घाटन गर्नुभएको अधिबेशनमा होरेका फ्लान्दर्स, होरेका फर्म र सिलिग्रोका प्रतिनिधिहरुले नेपाली ब्यबसायी संगको सहकार्यले दुवै पक्षलाई फाइदा भएको बताउदै आगामी दिनमा ब्याबसायिक सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता जाहेर गरेकाछन।
नेबाबले अहिले सम्म गरेको यात्राको बारेमा लुभेन नगरपालिका जानकार रहेको छ र आगामी दिनमा नेपाली ब्यबसायीहरुको सफलताका लागि तपाईहरुको मिहिनेत प्रयाप्त छ भन्दै उपप्रमुख दिर्क भान्सेनाले नेबाबका हरेक समस्यामा साथ दिने बताउनुभयो । नेबाबका निबर्तमान अध्यक्ष एबम नेवा युरोपका संयोजक यामु निरौलाले अग्रजहरुको योगदान र हालका ब्यबसायीहरुको सामुहिक मिहिनेत र संस्था प्रतिको लगनसिलताले नेबाबका हरेक अभियान उदहरणीय रहेकाछन भन्नुभयो।
बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपालका राजदूतज्यूले सोही दिन नेपाली दूतावासको पूर्वनिर्धारित आधिकारिक कार्यक्रम रहेको कारण भौतिक रूपमा उपस्थित हुन नसकिएको जनाउँदै पत्रमार्फत अधिवेशनको सफलताको शुभकामना सन्देश पठाउनुभएको थियो।
उहाँले नेपाली व्यवसायी संघ बेल्जियमले समुदाय तथा व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनका लागि सफलताको शुभेच्छा व्यक्त गर्नुभएको थियो।
नेबाब अध्यक्ष चिरन खवासले संस्थालाई स्मार्ट र ब्यबसायी मैत्री बनाउन हर सम्भब प्रयास गरिएको र आफ्नो कार्यकालमा सबैलाई समान ब्यबहार गरेको बताउनुभयो। बेल्जियमका प्रसिद्ध ब्यबासयिक प्रतिष्ठानसंगको सहकार्य बलियो बनेको यसलाई आगामी कार्यसमितिले निरन्तरता दिए नेपाली ब्यबसायीहरुलाई फाइदा पुग्छ भन्नुभयो।
कार्यक्रमको खुल्ला सत्रको पहिलो भागमा संस्थाको परिचय तथा विगतका गतिविधिबारे जानकारी गराइएको थियो। त्यसपछि दीप प्रज्वलन गरी नेपाली तथा बेल्जियन राष्ट्रिय गानका साथ कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो।
पहिलो सत्रको समापनसंगै उपस्थित पाहुनाहरूलाई १५ अप्रिलमा भएको विश्व आरोग्य दिवसलाई निरन्तरता दिदै र ध्यान, योग तथा आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित उद्देश्यले १० मिनेटको विशेष मेडिटेसन सेसन सञ्चालन गरिएको थियो । जसको संचालन ओम शर्माले गर्नुभएको थियो।
सोही क्रममा नेपाल पर्यटन बोर्डद्वारा जारी गरिएको भिडियो प्रदर्शन गरिएको थियो। त्यसपछि सहभागीहरूका लागि लन्च ब्रेक राखिएको थियो।
अधिबेशनको दोश्रो सत्रमा संस्थाका सचिव बाबुराम शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष भुवन सुवेदीले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो। दुवै प्रतिवेदनले संस्थाले यस कार्यकालमा गरेका काम, उपलब्धि तथा आर्थिक पारदर्शिताको स्पष्ट चित्र प्रस्तुत गरेको बताउदै पारित गरिएको थियो।
नेपाली दूतावास बेल्जियमद्वारा आयोजना गरिएको EU-Nepal Tech Forum कार्यक्रममा नेपाली व्यवसायी संघ बेल्जियमको तर्फबाट आफ्नो प्रस्तुति दिएका राज पुरी तथा दिपेश सुवेदीले संघको उपस्थिति अन्तर्राष्ट्रिय मञ्चमा समेत मजबुत हुँदै गएको सन्देश महसुस भएको बताएका थिए।
अधिवेशनमा संघ–संस्थाका प्रतिनिधिलाई खादा, माला लगाएर लामो औपचारिकता गर्ने परम्परा अबलम्बन नगरिएको नेबाब पदाधिकारीहरुले जानकारी गराएका थिए।
निमन्त्रणा गरिएका पाहुनाहरूको सम्मान स्वरुप नाम, फोटो, पद र संस्थाको नाम कार्यक्रमभरि स्क्रिनमा प्रदर्शन गरिएको थियो । मञ्च अगाडि केही व्यक्तिलाई मात्र राखी वर्गीकरण गर्ने परम्परालाई हटाई सबैलाई स्टेजतर्फ फर्केर बस्ने व्यवस्था गरेर समान सहभागिताको सन्देश दिने प्रयत्न भएको थियो।
मुख्य प्रवेशद्वारमा कार्यक्रमको सेड्युल राखेर सहभागीहरूलाई सहज बनाएको र कार्यक्रम पूर्वनिर्धारित समयमै सुरु भई तालिकाअनुसार सम्पन्न गरिएको थियो।
अधिवेशनलाई संस्थाको इतिहासमै आधुनिक, समयानुकूल र प्रभावकारी बनाउने प्रयास गरिएको थियो। निबर्तमान भएको चिरन खवासको कार्यसमितिले कार्यक्रमले ब्यबस्थापन, समयपालन, समावेशी सोच र साझेदारी विस्तारका क्षेत्रमा उदहरणिय कार्य गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, पंजीकृत सदस्यहरू, सामाजिक अभियन्ताहरू, व्यवसायीहरू तथा समुदायका अग्रज व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अधिबेशनबाट आगामी दुइ बर्षका लागि कासी दनैलाई अध्यक्ष र रमेश दाहाल बाबुराम शर्मा राजेन्द्र कार्कीलाई उपाध्यक्ष, भुवन सुवेदीलाई महासचिब, दिपेश सुवेदी सचिब, रिचा गुरुङ महिला सचिव, राज पुरी कोषाध्यक्ष, जितेन्द्र केसीलाई सह-कोषाध्यक्ष साथै सदस्यहरू: देबु श्रेष्ठ (लुभेन) उमेश घिमिरे (एन्तवेरपेन)खुला सदस्यहरू: राजु थापा भरत जंग क्षेत्री कुल बहादुर कार्की सरोज आचार्यलाई सर्बसम्मत चयन गरेकोछ।
नेबाबका निबर्तमान अध्यक्ष यामु निरौला संयोजक एबम संस्थापक अध्यक्ष राधाकृष्ण अधिकारी र संस्थापक सल्लाहकार रबिन्द्रमान श्रेष्ठ सदस्य रहेको निर्बाचन मण्डलले नयाकार्यसमितिको घोषणा र सपथ गराएको थियो।