तमु बेल्जियमले तमु नयाँ बर्ष तमुल्होसार भव्यता साथ मनाएकोछ ।
बेल्जियममा बसोबास भएका गुरुङ समुदायले निरन्तर मनाउदै आएको तमु ल्होसारमा ५ सय क्षमता भएको हलमा रंगीचंगी गुरुङ पोसाकमा सजिएका तमु नरनारीहरु र आगन्तुकहरु खचाखच भरिएका थिए। आयोजकहरु हल सानो भएर असुविधा भएकोमा माफी मागिरहेका थिए।
गुरुङ लामा मदन गुरुङले धार्मिक बिधि अनुसार पुजा पाठ,आशिर्बचन दिएर सुरु भएको कार्यक्रममा, नेपाली राष्ट्रिय गित बजाउदै पानसमा दीप प्रज्वलन सहित सुरु गरि ल्होसारको शुभकामना, नेपाल, फ्रान्स,लग्जेम्बर्गबाट आएका र स्थानिय कलाकारहरुले आ-आफ्ना गित र न्रित्य प्रस्तुत गरेका थिए।
ल्होसारको शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि बेनेलक्सका लागि नेपालका राजदुत सेवा लम्सालले सांस्कृतिक बिबिधता र सम्पन्नता नेपालको पुंजी भएको र विदेशमा पनि आफ्नो संस्कृतिलाई जोगाउन र नयाँ पुस्तालाई आफ्नोपन सिकाउन तमु समाज बेल्जियमले गर्दै आएको कामको प्रशंशा गर्दै संस्थाले गर्ने सामाजिक सांस्कृतिक कार्यमा दुताबासले निरन्तर सहयोग गर्नेछ भन्नुभयो।




संस्थाका उपाध्यक्ष चित्रजंग गुरुङले तमुसमाज स्थापना भएको २५ बर्षे अबधिमा हुदै/गर्दै आएका गतिविधिको जानकारी गराउदै कार्यक्रमको महत्वको बारेमा बताउनुभएको थियो।
समाजका अर्का उपाध्यक्ष अनिता गुरुङले अतिथिहरुलाई स्वागत गर्दै ल्होसारको शुभकामना दिनुभएको थियो।
तमु समाज लग्जेम्बर्गका अध्यक्ष सन्तोष गुरुङले तमु कला संस्कृतिको जगेर्न गर्न मिलेर काम गरौ भन्दै शुभकामना दिनु भयो।
समाजका पूर्व अध्यक्ष एबम कार्यक्रमका संयोजक नन्दा गुरुङ (दुर्गा)ले ल्होसार पर्बको शुभकामना दिदै सबैको सहयोग र लगनशीलताले कार्यक्रम सफल भएकोमा धन्यबाद दिनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष प्रबिना गुरुङले नेपालमा संघियता कार्यन्वयन हुदै गर्दा भएका केहि उपलब्धिले जनजातिहरुको भाषा संस्कृतिको संरक्षणमा मद्दत पुगेको छ र विदेशमा आफ्नो कला संस्कृतिको संरक्षण गरेर आफ्नो पहिचान कायम राखौ भन्दै ल्होसार पर्वको शुभकामना व्यक्त गर्नु भयो।
संस्थाका अध्यक्ष राम घलेले यति बिशाल कार्यक्रम गर्नका लागि संस्थाका अग्रज देखि सदस्य, शुभचिन्तकहरुले गर्नुभएको सहयोगका लागी धन्यबाद दिदै तमु समाज बेल्जियमको २५ बर्षे इतिहासबात सिकेर आगामी दिनमा अझ राम्रो काम गर्न प्रतिबद्धता जाहेर गर्नुभयो।
नेपालबाट आफ्नो प्रस्तुति दिन बेल्जियम आएका कलाकार धन बहादुर गुरुङ्ग ,नेदरल्यान्डका गायक राजु गुरुङ्ग, स्थानिय गायक अर्जुन शाही (लाहुरेकान्छा), कमल गुरुङ्ग लगायत दर्शकहरुलाई आ-आफ्ना गीत प्रस्तुत गर्दै नचाएका थिए भने फ्रान्स, लग्जेम्बर्ग र बेल्जियमका स्थानीय न्रित्यन्गनाहरुले गुरुङ गीत र नेपालि गीतमा बिबिध नृत्य प्रस्तुत गरेका थिए।
औपचारिक कार्यक्रम सञ्चालन समाजका महासचिव यम कुमारी गुरुङ्गले गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रमको संचालन रिचा गुरुङ्ग र अन्तिम गुरुङ्गले गर्नुभएको थियो।


