गढीमाईको बलि रोक्‍न गर्दै सर्वोच्चमा रिट दायर

0

काठमाडौं- पशु अधिकारकर्मी तथा अधिवक्ताहरुले गढीमाईमा सुरु हुन गइरहेको पशु बलि रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्। अधिवक्ता अर्जुनकुमार अर्याल, सरोजकुमार न्यौपाने, पशु कल्याण तथा अनुसन्धान केन्द्र नेपालकी निर्देशक गीता दाहाल र अधिवक्ता रामकृष्ण बन्जराले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

बारा जिल्लाको बरियापुर गाविसको गढिमाइ मन्दिरमा हरेक पाँच वर्षमा मेला लाग्ने गर्छ। उक्त मेलामा विश्वकै धेरै पशु बलि दिइने चलन रहेको र यो प्रथा पशु स्वाथ्य तथा सेवा ऐन २०५५ विपरित रहेकाले तत्काल रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ।  मंसिर ११ गतेदेखि सुरु हुन गइरहेको गढीमाई मेलामा करिब ५ लाख पशुहरुको बलि दिइने गरिएको तथ्यांक सार्वजनिक भएको र यसले वातावरणमा समेत नकारात्मक असर पार्ने रिटमा जिकीर गरिएको छ। भारतीय सर्वोच्च अदालतले समेत निर्यातको लागि अनुमति पाएकाभन्दा बाहेका अन्य पशुहरु नेपालतर्फ पैठारी गर्न नदिनु भनि अन्तरिम आदेश जारी गरेको अवस्थामा हस्तक्षेप हुनुपर्ने जिकीर रिटमा गरिएको छ।  पशु तथा बधशाला ऐनले क्वारेन्टाइन जाँच नभएका पशुहरु नेपालमा भित्राउन नपाउने व्यवस्था गरेको अवस्थामा विभिन्न देशहरुबाट आउने पशुहरु उक्त कानुन पालना नहुने जिकीर रिटमा गरिएको छ।

सरकारले २०७१ साल कात्तिक १६ गते खुल्ला विज्ञापन गरी २ करोड ६७ लाखको टेण्डरसमेत गरी विदेशी कम्पनीहरुलाई ठेक्का दिने कार्य गरी जानजान पशु हत्या गराउने कार्य गरेकाले यस्तो काम हालःलाई यथास्थानमा राख्नी आदेश दिन माग गरिएको छ।  रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, स्वाथ्य तथा जनसंख्या, विज्ञान तथा प्रविधि, कृषि, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, केन्द्रीय पशु क्वारेन्टाइन कार्यालय, जिल्ला प्रशासन कार्यालय र गढिमाइ मन्दिर सञ्चालन तथा विकास समितिलाई विपक्षी बनाइएको छ। धर्मका नाममा पशु बलि गर्दा हिन्दू धर्मको बदनाम हुने भएकाले सर्वोच्चबाट हस्तक्षेप हुनुपर्ने जिकीर रिटमा गरिएको छ।

Leave A Reply

Your email address will not be published.