भेरी नदीमा बस खस्यो : ५ को मृत्यु, झण्डै ४० यात्रु वेपत्ता

0

४ मंसिर, जाजरकोट । जाजरकोटबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस विहीबार विहान भेरी नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।

जाजरकोट सदरमुकाम खलंगाबाट सुर्खेतको राकमका लागि छुटेको ना ३ ख १४०८ नम्बरको बस भुर गाविसको भूतचौर भन्ने स्थानबाट भेरी नदीमा खसेको थियो ।

बसमा कम्तिमा ५० जना यात्रु सवार रहेको अनुमान गरिएको छ । तर अन्य यात्रुहरुको अवस्था अज्ञात छ । उनीहरुलाई भेरी नदीले बगाएको प्रहरीको अनुमान छ ।

नदीले यात्रुहरुलाई बगाएको अनुमानमा सल्यान र रुकुमका प्रहरीलाई पनि सम्भावित क्षेत्रमा परिचालन गरिएको छ ।

‘दुर्घटनामा २ पुरुष, एक महिला र दुई बालबालिकाको शव फेला परे पनि अन्यको अवस्था अज्ञात छ,’ मध्यपश्चिम प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले अनलाइनखबरलाई भने ।

जाजरकोट सदरमुकाम खलंगाबाट ४५ यात्रु लिएर विहान ६:४५ मा छुटेको बस विहान ८:४० मा दुर्घटना भएको थियो । बस सडकबाट करिब ५० मिटर तल भेरी नदीमा खसेको छ ।

घटनास्थलबाट उद्धार गरिएका घाइतेहरुको कोहलपुर मेडिकल बाँके र सुर्खेत क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

Leave A Reply

Your email address will not be published.