मिथिलाञ्चलमा छठ मनाइँदै

0

जनकपुरधाम, १ मङ्सिर । मिथिलाञ्चलको महापर्व ‘छठ’ आज यहाँ श्रद्धापूर्वक मनाइँदैछ । श्रद्धालुहरु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणी सर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी तलाउमा यो पर्व गएरातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् ।
मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजापाठ गरी यो पर्वको समापन गरिने परम्परा छ । ज्योतिषशास्त्रअनुसार, छठ पर्वको समयमा ब्रह्माण्डमा सूर्य दक्षिणायणतिर भएकाले कन्या राशिस्थित हुन्छ र यस मनोमुग्धकारी समयमा सूर्यको प्रकाश सबैभन्दा प्रखर, प्रभावकारी र मानवका लागि आहलादकारी हुन्छ ।
छठ शब्द षष्ठी शब्दको तद्भव रुप हो । षष्ठीका दिन षष्ठीका देवीसमेतको पूजा हुने भएकाले यस पर्वको नाम षष्ठी, छठी हुँदै अपभ्रंशमा षष्ठी छठ हुन गएको मानिन्छ ।
धर्मग्रन्थमा छठ पर्वको नाम षष्ठी, सूर्यषष्ठी व्रत र छठी पर्व भनी उल्लेख रहेको छ । षष्ठीका देवीलाई कार्तिकेयकी पत्नी मानिन्छ र षष्ठी देवीलाई प्रकृतिको छैठौँ अंश र देवसेना पनि भनिन्छ । षष्ठी र सूर्य गरी सात अंश बनेको हुँदा मानव जीवनमा सात अङ्गको अधिक महत्व रहेको छ । साक्षात् नारायणका रुपमा सूर्यदेवलाई मान्ने गरिएकाले यो पर्व जनव्रतको रुप लिइसकेकाले परम्परागत नरहेका मानिसले पनि उत्साहका साथ मनाउन थालेका छन् ।

Leave A Reply

Your email address will not be published.