तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माओवादीको माग

0

काठमाडौं \ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । मंगलबार सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो माग गरेको हो ।

केन्द्रीय समितिबाट पारित प्रस्तावमा भनिएको छ, ‘तत्काल संघीय संसद र प्रदेशसभाहरुको हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग जोडदार माग गर्दछ ।’

संघीय संसदको हिउँदे अधिवेश गत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयसम्म हिउँदे अधिवेशन नबोलाएको भनेर माओवादीसहितका अन्य दलले समेत सरकारको ध्यनाकर्षण गराउँदै आएका छन् ।

एकातिर अधिवेशन नबोलाउने र अर्कोतिर अध्यादेश ल्याउने कार्य भइरहेको भनेर पनि माओवादीले सरकारको ध्यानाकर्षण गरेको छ । केन्द्रीय समितिबाट पारित प्रस्तावमा भनिएको छ, ‘सार्वभौम संसदलाई छलेर अध्यादेसमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुई दलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरंकुश प्रवृतिको घोर विरोध गर्दछ ।’ माओवादी केन्द्रले संविधान कार्यान्वयनसँग सम्बन्धित ऐन बनाउन समेत माग गरेको छ ।

निर्णयमा भनिएको छ, ‘संघीयताको कार्यान्वयन र मौलिक हकको कार्यान्वयनसँग सम्बन्धित निजामती सेवा, संघीय प्रहरी ऐन, विद्यालय शिक्षा लगायतका प्रस्तावित विधेयकहरु तत्काल पारित गर्न ध्यानाकर्षण गराउँदछ ।’

Leave A Reply

Your email address will not be published.