काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलले चीनको तिब्बत स्वायत्त क्षेत्रमा मङ्गलबार गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले मृतकका परिवारलाई हार्दिक समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा दिनुभएको सन्देशमा भनिएको छ, “तिब्बत स्वायत्त क्षेत्रमा आएको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति म गहिरो दुःख व्यक्त गर्दछु। मृतकका परिवारजनलाई हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यस दुःखद घडीमा नेपाल जनगणतन्त्र चीनको सरकार र जनताको साथमा दृढतापूर्वक उभिएको छ।”
राष्ट्रपति पौडेलले नेपाल सरकार र नेपाली जनताका तर्फबाट समवेदना व्यक्त गर्दै चीन सरकार र पीडित जनतालाई आवश्यक सहयोग गर्न नेपाल तयार रहेको जनाउनुभएको छ। यो समाचार तयार गर्दासम्म तिब्बत क्षेत्रमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको निधन भएको र भौतिक संरचनामा ठूलो क्षतिका विवरणहरु प्राप्त भएका छन् ।