शिक्षालाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्छ : उपराष्ट्रपति

0

उदयपुर \  उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई साक्षारतामा मात्रै सिमित नराखी यसलाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताउनुभएको छ । उहाँले समाजमा सबैमा समानताको भावना जागृत गर्ने एवम् देशको विकास र समृद्धिमा सहयोग गर्ने माध्यम पनि शिक्षा नै भएको बताउनुभयो ।

उपराष्ट्रपति यादवले उदयपुर चौदण्डीगढी नगरपालिका–८ स्थित श्री सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहलाई सोमबार सम्बोधन गर्नुहुँदै पछिल्लो समय बदलिँदो विश्व परिवेश र प्रविधि युग अनुरूप शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र शिक्षण सिकाइ क्रियाकलाप आदि परिस्कृत र परिमार्जित गर्दै व्यवहारिक बनाउन उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै शिक्षाको महत्त्वमा जोड दिनुभएको हो ।

‘‘शिक्षा भनेको समाजको आधारभूत स्तम्भ हो, जसले मानिसलाई आत्मनिर्भर, सशक्त र सचेत नागरिक बनाउँदछ ।,’’ उहाँले भन्नुभयो, ‘‘ज्ञान, सही व्यवहार र सीप एवम् विद्या प्राप्त गर्ने महत्त्वपूर्ण प्रक्रिया पनि शिक्षा नै हो । यसले हामीलाई जीवनको कठिन समयमा चुनौतीहरूको सामना गर्न सहयोग गर्दछ ।’’

उहाँले सहरमा शिक्षा प्राप्त गर्नु सजिलो भए पनि दुर्गम गाउँमा अझै पनि धेरैको पहुँचमा यो नरहेको उल्लेख गर्दै खासगरी, छोरी चेलीहरूलाई कम उमेरमै शिक्षाबाट बञ्चित गराएको अझै पनि पाइने गरेकोले यसतर्फ सबैको ध्यानाकृष्ट हुन जरुरी रहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.