पोर्तुगलमा रहेका नेपालीहरुले यसै हप्ता भित्र राहदानी पाउने भएका छन । परराष्ट्रमन्त्री आरजु राणा देउबाको युरोप भ्रमणका क्रममा पोर्तुगलमा रहेका नेपालीहरुले नेपाली दुतावास फ्रान्समा रहेका तयारी राहदानी नपाएर दु:ख पाएको ब्यापक गुनासो आए पछि मन्त्री राणाले यसै हप्ता भित्र राहदानी बितरण गर्न निर्देशन गर्ने बताउनु भएकोछ ।
राहदानी बिभागले पठाएका करिब ३ हजार पाँच सय राहदानी नेपाली दुतावास पेरिसमा रहेको र समयमा बितरण हुन नसकेकाले पोर्तुगलबासी नेपालीहरुले पोर्तुगलमा अति आबस्यक कागजात बनाउन नपाएर दु:ख पाईरहेकाछन ।
नेपाली जनसंपर्क समिती नेदरल्यान्डले मन्त्री राणाको सम्मानमा आयोजना गरेको रात्रीभोज तथा भेटघाट कार्यक्रममा उहाले तयार भएका राहदानी ब्यक्तिका हातमा नपुग्नु दु:खद भएको बताउनु भयो । नेपाली दुतावास फ्रन्समा समन्वय गरेर यदि कर्मचारी कम भए बेल्जियम र जर्मनीबाट अतिरिक्त कर्मचारीको ब्यबस्था गरेर भए पनि यसै हप्ता नेपाली राहदनी बितरणको ब्यबस्था गराउने मन्त्री राणाले प्रतिबद्धता जनाउनु भएको जनसंपर्क समिती नेदरल्यान्डका संस्थापक अध्यक्ष एनआरएन अभियन्ता नारायण आचार्यले जानकारी गराउनु भएकोछ ।
मन्त्री राणाले पेरिस स्थित नेपाली दूतावासलाई यसको ब्यवस्थापन गर्न निर्देशन गरी सकेको उहाको सचिबालयले जनाएकोछ ।
एनआरएनए पोर्तुगलका अध्यक्ष दीपा काफ्लेले दुतावासबाट राहदानी बितरणका लागि यसै हप्ता दुतावासको टोली लिस्बोन आउने फ्रान्सका लागि नेपाली राजदुत सुधिर भट्टराईले जानकारी गराएको बताउनु भएकोछ ।
एनआरएन लगायत पोर्तुगलमा रहेका संघ संस्थाहरुले तयार भएका राहदानी बितरणको ब्यबस्था गरिदिन परराष्ट्र मन्त्रालय, नेपाली दुतावास फ्रान्सलाई अनुरोध गर्दै आएका थिए ।