सभामुख घिमिरेलाई सांसद रवि लामिछाने पक्राउबारे जानकारी

0

सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई सांसद लामिछाने पक्राउसम्बन्धी जानकारी लेखी पठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले आज निकालेको सूचनामा उल्लेख छ ।

चितवनको निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमति अनुसार फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा उल्लेख छ । नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘सङ्घीय संसद्को कुनै सदस्य पक्राउ परेमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ’ भनी उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि हिजो काठमाण्डौबाट पक्राउ गरिएको थियो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । लामिछानेलाई प्रहरीले सङ्गठित अपराध र किर्ते लिखतमा अनुसन्धान गर्ने भएको छ ।

क्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने कानुनी प्रावधान भए पनि हिजो शुक्रवार पक्राउ परेकाले प्रहरीले रविलाई भोलि आइतवार मात्र अदालतमा उपस्थित गराउने छ ।

Leave A Reply

Your email address will not be published.