खिचापोखरीस्थित पुरानो नेवार बस्तीको बीचमा काभ्रेबाट झरेको एउटा खकुरेल ब्राह्मणको घर थियो । त्यो घर कविराज हरिप्रसाद खकुरेलको थियो । अहिलेको सन्दर्भमा हेर्ने हो भने, निकै ठूलो परिवार भन्न मिल्छ । १२ सदस्सीय परिवारमा पाँच छोरा र त्यति नै छोरी । वरिपरी ज्यापु बस्ती थियो । ब्राह्मण परिवारका छोराछोरी घरैमा खेल्दा भूमीकाको बाँडफाँड गर्थे । कोही पाइलट, कोही शिक्षक, कोही व्यापारी त कोही गोठाला । अरू अन्य भूमीका फेरेर खेल्न पनि तयार हुन्थे । त्यो बीचमा एउटा बालक थियो, उ खेल्दा पनि डाक्टर भन्दा दायाँ वायाँ बन्नै नमान्ने ।
सीपले दक्ष, काममा इमान्दार र सफल एवं बरिष्ठ डाक्टरका नाम लिदाँ धेरै मानिसले लिनसक्ने थोरै नाम मध्येका एक बरिष्ठ शल्यचिकित्सक डा.महेश खकुरेल त्यही खिचापोखरी खकुरेल परिवारका बच्चामा खेल्दाका डाक्टर हुन् । खेल्दा डाक्टर नै बन्न चाहनु पछाडीको मोह उनमा कतै डाक्टर बन्ने चाहना लुकेर बसेको ले होला । उनको मनमा रहेको चाहनाले साकार रूप समेत पायो । उनको जन्म काठमाडौ खिचापोखरीमा २००२ सालमा भएको हो । प्रारम्भिक शिक्षा संस्कृत विषयको थियो । घरैमा भाडामा बस्ने एक जना शिक्षकसँग उनले अमरकोष, लघुसिद्धान्त कौमुदी पढे । पछि एकैपटक कक्षा तीनमा शान्ति विद्यागृह पब्लिक स्कूलमा भर्ना भए उनी ।
बच्चा अवस्थामा स्वास्थ्य राम्रो थिएन । उनलाई लक्षणका हिसाबले त्यो ‘चाइल्डहुड आस्थमा’ हुनुपर्छ । त्यसको असर पढाईमा पनि प¥यो । कक्षा ९ मा पुगेपछि भने स्वास्थ्यमा अल्लि सुधार भयो र स्वास्थ्यसँगै पढाईमा पनि । अहिले पनि उनी बाल्यकालमा विताएका क्षण संम्झिन्छन् र वर्तमानको समीक्षा गर्छन् । दशै भन्दा अघिपछि नयाँ लुगा लगाउने चलन थिएन । कक्षा ८ मा पढ्दा पहिलोपटक हवाई चप्पल लगाए उनले । सोझो खालको केटो पढाईमा सामान्य । शाही वा खड्गी परिवार थियो वरपरका साथी पनि । ‘उनीहरुसँग कुरै नमिल्ने । कहिले काँही झगडा पर्दा पनि किन गएको त भनेर आमाले नै उल्टै गाली गर्नुहुन्थ्यो ।’ उनी संम्झिन्छन्, ‘अनि घरैमा खेल्थ्यौ, बाल्यकालीन खेलमा म सधै डाक्टर बन्थें ।’
बुबा कविराज हुनुले घरमा औषधि र उपचारको कुरा बारम्बार हुने । उनी आफै पनि विरामी भइरहने र नातामा भिनाजु पर्ने एक जना बरिष्ठ चिकित्सक रत्नप्रसाद लोहनीको व्यतिmत्व, स्वाभाव र शैली देखेर पनि उनलाई डाक्टर बन्न ‘क्लिक’ गरेको हुनुपर्छ । परिवारको भित्रि इच्छा साइलो छोरो महेश आर्युवेद क्षेत्रमा नै लागोस् भन्ने थियो । जडिबुटी खोज्न निकै अप्ठेरो । पढ्न पनि लामो समय लाग्ने । अझै बुबाले सक्रिया भूमीका निर्वाह गरेर स्थापना गरेको नरदेवी अस्पतालमै काम गरे हुन्थो भन्ने नै थियो होला । उनले २०१७ सालमा दोस्रो श्रेणीमा एसएलसी पास गरे । डाक्टर बन्ने इच्छा संगालेर त्रि–चन्द्रमा आइएससी भर्ना भए । परिवार आर्थिक रूपमा सम्पन्न थिएन ।
निजी खर्चमा डाक्टर पढ्ने कुरा सोच्न पनि सक्दैन थिए उनी । आइएससीमा राम्रो प्रतिशत आएमा छात्रवृतिमा डाक्टर बन्न सकिन्थ्यो । उनले पनि त्यही बाटो अपनाउने प्रण गरे । त्यतिबेला आइएससीमा प्रथम श्रेणी आउने कुरा दुर्लभ मानिन्थ्यो । उनले राम्रो प्रतिशतकै लागि एक वर्ष तीन विषयका परीक्षा ‘ड्रप’ गरे । दिएकै विषयमा पनि ५५ प्रतिशतको हाराहारीमा नम्बर आयो । अर्को परीक्षा दिए तर प्रथम श्रेणीका लागि एक नम्बर मात्रै पुगेन । एउटा सामान्य परिवारमा जन्मिएको केटोको डाक्टर बन्ने बाटो भने खुल्यो । आइएससीमा नेपालभरमै दोस्रो स्थानमा आएपछि रोजेको ठाउँमा पढ्न जान पाउँनु पर्ने हो तर उनले रोजेको अल इन्डिया इन्स्टिच्युटमा पढ्न कोटा पाएनन् । तर, त्यतिका नम्बर ल्याएपछि छात्रवृति नपाउने भन्ने कुरै थिएन । आइएससीको नम्बरका आधारमा उनी अमृत सहर पञ्जाब यूनिभर्सिटीमा चिकित्साशास्त्र पढ्ने अनुमति पाए ।
उनले एमबिबिएसमा ठूलै चमत्कार गर्न नसकेपनि नियमित रुपमा आफ्नो अध्ययन पूरा गरे । एमविबिएस पढ्दा २ सय ५० रूपैयाँ मासिक छात्रवृति पाइन्थ्यो । करिव ४५ रुपैयाँले खाना पुग्थ्यो । त्यसैले पकेट खर्चको समस्या नहुने । साथीभाईसँग रमाइलो गरेरै बिताए । नेपाल फर्किएपछि उनले स्वास्थ्य मन्त्रालय अन्तर्गत जागिरे बने । पहिलो ‘पोष्टिङ्ग’ नाम्चेबजारमा भयो । नाम्चेबजारमा रहँदा पनि उनी गाउँ गाउँमा स्वास्थ्य शिविर लिएर जान्थे । मानिसको चेतनास्तर निकै कम थियो । १३÷१४ जना सन्तान जन्माउँथे, १÷२ जना बाच्थे । औषधि बाँडेर खान्थे र त्यो पनि कागजैसमेत । अहिले पनि उनी सबै नेपालीलाई एकपटक गाउँ जान सल्लाह दिन्छन् । केही समयसम्म उनले बुटवल, भद्रपुरलगायतका ठाउँमा बसेर काम गरे । नाम्चेबजारमा दरवन्दी रहँदा उनी आफै औषधि बोकेर सोलुका गाउँ गाउँमा जान्थे । गाउँमा जनचेतना पटक्कै थिएन, उनी सम्झन्छन् ।
केही समय बुटवल, भद्रपुरसमेत बसेर काम गरे । पछि वीर अस्पतालको सर्जरी विभागमा डा.अन्जनीकुमार शर्मा, डा.दिनेशनाथ गंगोलसँग काम गरे । त्यतिबेलै उनलाई सर्जरीप्रति बढी चासो लाग्यो । ‘धेरै झन्झट नहुँने, नचाहिने भाग काट्यो फलिदियो, मज्जाको काम रहेछ ।’ उनले त्यतिबेला लागेको कुरा सुनाए । उनको दरवन्दी बर्दियामा थियो । उनी विदा स्विकृत नै नगराई पढ्न बेलायत गए । मार्टर अफ सर्जरीको लागि फेलो अफ रोयल कलेज सर्जन (एफआरसिएस) मा । काम हेरेपछि परमानेन्ट भिसा दिने कार्यक्रम थियो त्यो । विस्तारै पढाईलाई काममा एप्लाई गर्ने अवसर हुन्थ्यो । राजाको भ्रमणको समयमा त्यहाँ डाक्टरको खोजी भएछ । डाक्टर आएकै छैनन् भनेपछि राजाले खोजेछन् । तत्कालिन स्वास्थ्य मन्त्रीले त्यही रिसमा भविष्यमा सरकारी सेवामा अयोग्य नठहर्नेगरी निलम्बन गरेछन् । निलम्बनको सूचना गोरखापत्रमा छापिएछ । उनले दाईमार्फत त्यो कुरा थाहा पाए ।
‘उनले नेपालमा निवेदन पठाए, पढाई सकेर देश र नरेशको सेवामा हाजिर हुन्छु ।’ तर, सुनुवाई भएन । उनको जागिर जोगियोस् भन्ने उद्देश्य भन्दा पनि राष्ट्रप्रतिको रेस्पोन्स थियो । वेलायतमा १९८१ मा पढाई सकेपछि उनी १९८५ सम्म थप चिकित्सकीय अभ्यासमा लगे । एफआरसिएसको परीक्षामा एकैपटकमा पास हुने भन्ने कुरा निकै कठीन मानिथ्यो । उनले पास गरेर देखाए । उनको डा.सुधा खकुरेलसँग विवाह भइसकेको थियो । उनी भन्दा श्रीमती खकुरेल डेढ वर्षपछि वेलायत गएकोले पनि श्रीमतीको पढाई पूरा गर्न पनि थप बस्नुपर्ने भयो । तर, नेपाल फर्किने कुरामा उनीहरूको एकमत थिए ।
वेलायत बस्दाको एउटा घटना उनलाई अहिले पनि याद आउँछ । वेलायतीहरू नेपाली भनेपछि सफ्ट थिए । ‘गोरा भएसम्म अरूले अवसर नपाउने तर, काला÷कालाबीचको प्रतिस्पर्धामा नेपालीलाई माया गर्थे ।’ उनी संम्झिन्छन्, । उनलाई एक दिन प्रध्यापकले सोधे । ‘ह्वाट इज योर प्लान ?’ उनले पढिसकेर नेपाल फर्किने योजना सुनाए । त्यो प्राध्यापकले कति तलब पाउँछस् भनेर सोध्यो । उनले नेपालको इज्जत राख्नै प¥यो भनेर सर्जनको ५० पाउण्ड हुन्छ भने । त्यतिबेला झण्डै नेपालमा सर्जनको तलब ३५ पाउण्ड थियो । वेलायतमा करिव ३ सय ५० पाउण्ड । उनले जवाफ दिए, ‘१० पाउण्ड कमाउने भएको ठाउँमा म ५० पाउण्ड खाँने थोरै भाग्यमानी मध्ये पर्छु ।’ उसले भन्यो, ‘तँ डाक्टर हैन् पोलिटिसियन हुनुपर्ने मान्छे रहेछस् ।’
उनी पढेर नेपाल फर्किएपछि श्रीमती सुधा पुनः सरकारी सेवामा आवद्ध भइन् । उनले त ७ महिना करिव कामै पाएनन् । सरकारी सेवामा पुनः एमबिबिएसबाट प्रवेश गर्नुपर्छ भने । टिचिङ्ग खुलेको दुई वर्ष भएको थियो तर, त्यहाँ पनि यहीका शिक्षकलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरा आयो ।
नेपाल फर्किएर केही समय खाली बस्दा उनले नेपालका सबै ठूला अस्पताल धाए । पाटनमा एमबिबिएस डाक्टर सरह काम गर्ने भए मात्र हुन्छ भने । वीरमा निर्देशक र विकास समिति अध्यक्षबीच व्यापक विवाद थियो । त्यसले पनि ठूला अस्पतालमा काम थाल्न सहज भएन । महेश कुमार उपाध्याय, मोहनमान सैजु, रत्नशमशेर राणा, डा.सत्याल, नेत्रबहादुर अमात्यलगायतले तत्कालिन डिन डा.मदन उपाध्ययलाई भने, ‘नेपालमा केही गर्छु भनेर फर्किएको, राम्रो संस्थामा पढेर अभ्यास गरेको सर्जनलाई लिनुपर्छ’ भनेर सुझाब दिएपछि र शिक्षण अस्पतालमा खुट्टा टेक्न पाए । क्षमता, इमान्दारिता, सीप र मेहनत एउटा मान्छे सफल हुने आवश्यक गुण हुन् । यी सबै उनमा थियो । त्यसैले खुट्टा टेक्न पाए राम्रो गरेर देखाउथेँ भन्ने कुरामा दुईमतै थिएन । उनले देखाए पनि ।
टिचिङ्ग हस्पिटलमा २०४३ साल जेठमा करारमा २÷४ वर्ष काम गरका थिए । विस्तारै उनलाई एसोसियट प्रोफेसर दिइयो । उनले शिक्षण अस्पताल र विरामीको सेवालाई अर्जुन दृष्टि बनाए । त्यसैको फल होला क्लिनिकल तर्फबाट उनी छिट्टै प्रोफेसर पनि भए । काम गर्ने क्रममा शिक्षण अस्पतालमा डा.महेश खकुरेलसँग सर्जरी गराउँन आउनेको भीड थियो । डा.गोविन्द शर्मा उपकूलपति थिए । शिक्षण अस्पतालमा राजनीतिक भागबण्डामा निर्देशक हुन ठूलो होड चल्यो । तत्कालिन उपकूलपति डा.शर्माले उनलाई धेरै अनुरोध गरे । दुई पटकसम्म उनले अनुरोध अस्विकार पनि गरे । ‘म सेवा दिन्छु र शैक्षिक अभ्यास गर्छु, प्रशासनीक पद चाहिन्न ।’ उनले भनेका थिए । तेस्रोपटक उनले यति ठूलोगरी मित्रवत् ढंगले आग्रह गरेकी उनले नाई भन्नै सकेनन् ।
जीवनमा चिकित्सकीय अभ्यास र चार वर्ष तीन महिना नेतृत्व संम्हाल्दा उनले कहिल्यै पनि निष्ठामा सम्झौता गरेनन् । शिक्षण अस्पतालको निर्देशक हुँदा उनले कहिल्यै अस्पतालको गाडी घरसम्म लगेनन् । निर्देशकले पाउँने सुद्ध तलब बाहेक अन्य सुविधालाई उनले घरसम्म पु¥याएनन् । ‘कुनै बाहिरबाट आएको पैसा भए लिइन्थ्यो होला, तर नेपाली विरामीले तिरेको शुल्कमा के प्रयोग गर्नु ? ।’ उनले भने । उनलाई यी सबै काम गर्दा धेरै ठूलो काम गरेँ भनेर फुर्ति गर्न मन लाग्दैन । विहान ७ वजे अस्पताल पुगेपछि साँझ ५ वजेसम्म अस्पतालकै चिन्ता ।
त्यतिबेला अस्पतालमा निजी अभ्यास गर्न खुल्ला थिएन । खकुरेलसहित थोरै चिकित्सकले मात्रै त्यसलाई पालना गरे, अरू लुकेर निजी अभ्यास गर्थे । शिक्षण अस्पतालले खुल्ला गरेको दश वर्षदेखि उनी डा.मधु घिमिरेको अनुरोधमा हेम्स हस्पिटलमा निजी प्राक्टिस गर्दै आएका छन् । निर्देशक बन्दा उनले कुनै पनि राजनीतिक दवाव झेल्नुपरेन । त्यो उनको मिल्ने काम गर्ने र नमिल्ने कामका लागि हुदैन भेर ठाडै भन्ने स्वाभावको प्रतिफल पनि होला । यो कुराले उनको संस्था र सेवा प्रतिको प्रतिवद्धता झल्काउँछ ।
१९९२ मा शिक्षणको व्यवस्थापन जाइकाले छोडेपछि अस्पतालले राम्ररी गति लिन सकेको थिएन । उनको समयमै हाल मनमोहन कार्डियोभास्कुलर सेन्टर रहेको भवन, गणेशमान सिंहको नाममा प्रशासनीक भवन, बर्थिङ सेन्टर रहेको भवन, ओपिडी भवन बन्यो । हालै सम्पन्न भएको आकस्मिक भवन पनि उनकै पालामा संम्झौता भएको थियो । त्यो करौडौको निर्माणका लागि सहयोग माग्न जाँदा कसैल उनलाई नांई भनेन । अहिले पनि धेरै मानिसहरू राजनीतिक दबाबले काम गर्न सकिन् भन्छन्, उनले कहिल्यै त्यस्तो महसुस गरेनन् ।
सर्जरी विभागमा रहँदा पनि उनले पहिलोपटक नचिरीकन पत्थरी निकल्ने सर्जरी (ल्याप्रोस्कोपिक) नियमित रूपमा गराए । ग्यास्ट्रो इन्ट्रोलोजी सर्जरीमा समेत सब स्पेसेयालिटीको विकास गरे । निर्देशक हुँदा उनकै अडान र नेतृत्वले गर्दा कानूनी बाधा फुकेर पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण भयो । उमेरहदका कारण ०६६ सालमा उनी शिक्षण अस्पतालबाट अबकास पाए । धेरै समय बस्दा नयाँलाई अवसर हुँदैन भनेर उनले शिक्षण अस्पताल छोड्न चाहेका थिए । तर अन्य सबै बरिष्ठ चिकित्सको आग्रह र शल्यक्रिया विभागको सिफारिसमा करार नियूक्ती गरियो ।
उनले थप समय बस्ने भएपछि केही नयाँ काम गर्नुपर्छ भनेर ग्यास्ट्रोइन्टस्टिनलको पिएचडीसरह सुपर स्पेसलाइजेसन कार्यक्रम (एमसिएच) सुरू गरे । त्यो कार्यक्रममा एक ब्याच समेत निकाल्न पाएनन् । डिन डा.अरूण सायमीले खकुरेलसँग प्रतिशोध लिएर बरिष्ठ चिकित्सको आग्रहलाई समेत कुल्चिएर उनको करार थपेनन् । ०६७ साल भदौमा १९ दिन अस्पताल बन्द हुँदा मन्त्रालयले गठन गरेको छानविन कमिटिमा डा.खकुरेल थिए । समितिले डिनलाई दोसी ठहर गरेको प्रतिसोध उनले खकुरेलसँग साँधे । खकुरेललाई पद र जागिर प्रतिको मोह हैन एक ब्याच निकाल्न पाए हुथ्यो भन्ने लागेको थियो । तर, नपाउँनु र नदिनु पछाडी कुनै गुनासो छैन । शिक्षण अस्पतालमै रहेका समयमा उनी निर्वाचन मार्फत् सन् २००२ सालमा काउन्सिलको उपाध्यक्ष भए । त्यहाँ रहँदा पनि उनले, हाल काउन्सिल रहेको भवन बनाउँनदेखि अहिले पनि धेरै चर्चामा रहेको चिकित्सा पेशा अवलम्बन गर्न काउन्सिलबाट लिइने अनुमति व्यवस्था लागू गर्न ठूलो भूमीका खेले ।
पहिलो पटक अवकास पाउने समयमै नीजि संस्थाहरूले उनलाई ठूलो आर्थिक अफरसहित आवद्धताको आग्रह गरेका थिए । तर शिक्षण अस्पतालमा म्याद नथपिएपछि उनी हाल किस्ट मेडिकल कलेजमा आवद्ध छन् । ‘संस्थामा रहेपछि काम त गर्नुपर्छ, सरकारीमा जस्तो मज्जा निजीमा हुदैन रहेछ ।’ उनी थप्छन् । पेशामा नैतिक आचरणमा रहँने डा.खकुरेल सर्जरी सीपमा पनी हाल क्रियाशील डाक्टरमध्ये थोरैभित्र पर्छन् । त्यसको प्रमुख श्रेय उनी वेलायतमा आफूले पढेको संस्थालाई दिन्छन् । दोस्रो कुरा काम गर्ने उपयुक्त अवसर पनि हो । ‘धेरै राम्रो विऊ पनि मरूभूमीमा लगेर रोप्ने हो भने उम्रिन्न । मिडियम प्रकारको विऊ भएपनि राम्रो माटोमा रोप्ने हो भने, राम्रोगरी उम्रिन्छ ।’ उनले भने, ‘नेपालमा सबैभन्दा बढी श्रेय शिक्षण अस्पताललाई जान्छ, जसले डा.महेश खकुरेललाई चिनायो ।’ यसबीचमा उल्लेखनीय शिक्षा पुरस्कार, दुर्गम सेवा पट्ट, त्रिशक्ति पट्ट र वीरेन्द्र ऐश्वर्य पदक समेत पाए ।
शिक्षण अस्पतालबाट रिटायर्ड भएपनि उनी टायर्ड भएनन् । अहिले पनि नयाँ पुस्तामा राम्रा डाक्टर उत्पादनका लागि केही भएपनि योगदान गर्न सकिन्छ की भन्ने उनको सोच हो । नयाँ पुस्ताका डाक्टरमा आएको सौखिनपनदेखि भने उनी कहिले काँही छक्क पर्छन् र कहिले काँही आफ्नो समय संम्झिएर तुलना गर्छन् । उनी एमबिबिएस सकेपछि पनि दाईको पुरानो साइकल चढेर अस्पताल जान्थे । अहिले डाक्टरहरू एमबिबिएस सकिनासाथ सेन्ट्रो खोज्छन् । यसले सजिलै आउने पैसाको पछाडी दौडाउने र डाक्टरको इथिक्सको पाटो कम्जोर हुन्छ की भन्ने डर छ । आचार संहिता विपरीत अभ्यास गर्नेहरूमा भने पहिला र अहिले कुनै कमी छैनन भन्ने उनलाई लागेको छ ।
जीवनभर अभ्यास गर्ने क्रममा उनी कहिल्यै पैसाको पछाडी दौडिएनन् । बेलायतमा राम्रोसँग बचेको पैसाले जीवन धान्न धेरै टेवा पु¥यायो । अहिले पनि श्रीमान/श्रीमती सानै भनेपनि आम्दानी गरिरहेका छन् । प्राक्टिस थालेको दश वर्षमात्रै भयो, त्यसैले नेपाल फर्किएर मनग्य पैसा कमाउन भने सकेनन् । अहिले उनका ठूला चाहाना छैनन् । ठूलो छोरा अमेरिकामा पढाई सकेर अष्ट्रेलियामा सिफ्ट हुने तरखरमा छ । सानो छोरा अमेरिकामै पढ्दैछ । दैनिकी उसैगरी चलेको छ । खकुरेल पछिल्ला दिनमा अल्लि बढी फुर्सदिला छन् । साँझ उनको घरमा पग्यो भने उनलाई कम्पाउण्डमा रहेको फुलबारीमा फुल गोडिरहेको वा मल, पानी गर्दै गरेको भेट्न सकिन्छ ।
–
स्रोत :- स्वास्थ्य खवर डट कम