बीपी राजमार्गबाहेक सबै राजमार्ग तीन दिनभित्र सञ्चालन गर्ने तयारी

0

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अबको तीन दिनभित्र बीपी राजमार्गबाहेक देशका अरु सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने दाबी गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्माले गएको असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरोले क्षतिग्रस्त बनाएका बीपीबाहेक अरु सबै राजमार्ग आउँदो सोमवारभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । बीपी राजमार्ग पूर्णरुपमा सञ्चालन गर्न भने समय लाग्ने उहाँको भनाइ छ ।

सचिव शर्माका अनुसार बाढी पहिरोबाट ८० राजमार्गमध्ये २४ वटा राजमार्गमा ८ सय ५ ठाउँमा पहिरो गएकोमा ७ सय ७४ वटा पहिरो हटाइएको जानकारी दिनुभयो । अझै पाँचवटा राजमार्गका २१ ठाउँमा पहिरोले अवरुद्ध भएकोले पहिरो पन्छाएर सञ्चालन गर्न प्रयास भइरहेको उहाँको भनाइ छ ।

कान्ति राजपथ भोलिदेखि नै सञ्चालनमा आउन सक्ने सम्भावना रहेको सचिव शर्माले बताउनुभयो । यस्तै अरनिको राजमार्ग पनि तीन दिनभित्र सञ्चालनमा ल्याउन काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.