सरकार र मोर्चाबीचको वार्ता स्थगित

0

काठमाडौं, २३ कार्तिक । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगन भएको छ । मोर्चाले सरकारले आफ्ना नेता तथा कार्यकर्ता नियन्त्रणमा राखेकाले उनीहरुलाई रिहा नगरी वार्तामा बस्न नसकिने बताएको बुझिएको छ । तराई–मधेसमा देखिएको समस्याका कारण दैनिक जनजीवन प्रभावित भएको र इन्धनलगायत दैनिक अत्यावश्यकीय वस्तुको आयात समेत प्रभावित भएकाले आजको वार्तामार्फत समस्याको समाधान गर्न पहल गर्ने विश्वास लिइएको थियो ।
मोर्चाले आइतबार सप्तरीको भारदह र रुपनीमा पूर्वपश्चिम राजमार्ग खुलाउने क्रममा आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेको बताउँदै वार्तामा बस्न अप्ठ्यारो परेको जनाएको छ । सामान्य प्रशासनमन्त्री रेखा शर्माले आज सरकार र मोर्चाबीच अपराह्न १ बजे वार्ता हुने तय भए पनि अन्तिम समयमा आएर स्थगन भएको बताउनुभयो । उहाँले सरकार सार्थक वार्ताको वातावरणमा लागिपरेको र समस्या समाधान गर्न प्रतिबद्ध रहेको भन्दै कुनै पनि बहानामा मोर्चा भाग्न नहुने बताउनुभयो ।
मोर्चा सम्बद्ध सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पक्राउ परेका नेता तथा कार्यकर्ता नछाडिएका कारण आज वार्तामा सहभागी हुन नसक्ने जानकारीसरकारलाई गराइएको बताउनुभयो । ‘‘हामी पनि समस्या समाधान होओस् भन्ने पक्षमा छाँै तर सरकारले नै हाम्रा नेता तथा कायकर्ता थुनेर राखेको छ, उनीहरु रिहाइ हुनुपर्छ, अनि हामी वार्तामा बस्छौँ”, कर्णले भन्नुभयो । आइतबार साँझ प्रमुख तीन दलबीच भएको वार्तामा वार्ता र संवाद मार्फत समस्याको समाधान गर्न प्रतिबद्ध भएर लाग्ने सहमति भएको थियो ।

Leave A Reply

Your email address will not be published.