इन्द्रजात्रा शुरू, वसन्तपुरमा इन्द्रध्वजा ठड्याइयो

0

काठमाण्डौको वसन्तपुरमा आज बिहान इन्द्रध्वजा ठड्याएसँगै काठमाण्डौ उपत्यकाको सबैभन्दा ठूलो जात्रा मानिने इन्द्रजात्रा शुरू भएको छ । बिहान ८ बजेर २६ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याएसँगै यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको हो ।

हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ । हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो असोज ५ गतेसम्म चल्नेछ ।

कुमारी इन्द्रजात्राको अवसरमा पर्सि असोज १ गते काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा रहेको छ । आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवी नाच, महाकाली नाच, आकाश भैरव, समयबजी सजाएर राख्ने लगायतका परम्परागत सांस्कृतिक मूर्ति, नाच लगायतका धार्मिक गतिविधि हुने गर्छन् ।

आज बेलुका यो वर्षभरि निधन भएका व्यक्तिका परिवारले ‘उपाकु’ दीप प्रज्वलन गर्दै सांस्कृतिक नगर परिक्रमा गर्ने गर्दछन् ।

Leave A Reply

Your email address will not be published.