अन्टार्कटिका पुग्ने पहिलो नेपालीलाई गृहजिल्लामा सम्मान

0

बागलुङ \ अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृहजिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्कटिकामा पाइला टेक्ने पहिलो नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले २५ हजार रुपैयाँसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

नौ करोड रुपैयाँ लागतमा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वकर्मालाई सम्मान गर्नुभएको बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

बागलुङ–१४ नारायणस्थानमा जन्मनुभएका विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँ भारतीय सेनामा कार्यरत हुँदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधिकको रूपमा त्यहाँ पुग्नुभएको थियो । प्रसिद्ध प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित र गिनिजबुकमा नाम लेखाउन सफल विश्वकर्माले बागलुङको नाम चिनाउनुभएको नगरपालिकाले जनाएको छ ।

विश्वकर्मा अहिले रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मा बस्दै आउनुभएको छ । उहाँका नाममा बुटवल उपहानगरले ‘भुवनसिंह मार्ग’ भनेर सडकको नामाकरण गरेको छ । सम्मान ग्रहणपछि विश्वकर्माले प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित हुँदाभन्दा गृह पालिकाले सम्मान गर्दा धेरै उत्साहित भएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.