संविधान संशोधन हुनसक्ने अवस्था छ : सभापति देउवा

0

काठमाडौँ \ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन गर्नु हुँदै कांग्रेसका सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले कतिपय कुराहरू संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको जिकिर गर्नुभयो । उहाँले सबैले आवश्यक ठानेको खण्डमा संशोधन हुने स्पष्ट पार्नुभयो ।

सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्नुहुँदै  समानुपातिकतालाई अझै राम्रो गर्नेगरी संशोधन गर्ने बताउनुभयो । उहाँले निर्वाचनबाट जितेर आउन नसक्नेहरू पनि रहेकाले उनीहरूको समावेशिताका लागि पनि समानुपातिकतालाई अझै राम्रो अध्ययन गरी संशोधन गर्ने बताउनुभयो ।

संविधानका आधारभूत कुराहरू संशोधन गर्न नमिले पनि अन्य कुरामा अझ राम्रो गर्नेगरी संशोधन गर्ने बताउनुभयो । संविधानमा भएका कमी, कमजोरीलाई सच्याइने र प्रजातन्त्र र मानव अधिकार पहिलो प्राथमिकता भएको बताउनुभयो । अरू देशको तुलनामा अझ बढी प्रगतिशील लोकतान्त्रिक समाज स्थापित गर्नुपर्ने बताउनुभयो ।

‘‘समावेशीसहितको प्रजातन्त्र राखिएको छ । यसमा अझ हामीले राम्रोसँग अध्ययन गर्ने, यसमा अझ बढी राम्रो बनाउन सकिन्छ, साथसाथै संविधानको संशोधन हुनसक्ने अवस्था हो । त्यसकारण फण्डामेण्टल कुराहरूमा परिवर्तन हुन सक्दैनन् । त्यहाँ लेखिएको पनि छ । अहिले समावेशिताको आधारमा जो सबै नेपालीहरू अटाउने संविधान छ ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘त्यसका केही कमी कमजोरी छन् भने सच्याएर अघि बढाउनुपर्छ । महत्त्वपूर्ण कुरा प्रजातन्त्र र मानव अधिकार हो । मानव जातिले निर्बाध रूपमा आफ्नो अधिकार प्राप्त गर्न पाउनुपर्छ । डर, त्रास मुक्त देशको रूपमा स्थापित गराउनुपर्छ । अरू देशको तुलनामा अझ बढी भाइब्रेट डेमोक्रेसी सोसाइटी स्थापित गर्नुपर्छ ।’’

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई स्थायी बनाइ जनताको अझ बढी समर्थन, विश्वास जित्न सक्नुपर्ने बताउनुभयो । नेपाललाई गरिबी मुक्त गराउनुपर्ने र सबै लागेर काम गरे समावेशी नेपाल बन्ने बताउनुभयो ।

सभापति देउवाले कैलालीको आमखैयामा आफूमाथि भएको आक्रमणको घटनाको पनि स्मरण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.