पेरिस पारालिम्पिक्समा पलेशालाई ऐतिहासिक कास्य पदक

0

पेरिस पारालिम्पिक्समा पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छिन् । के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन् ।

नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान बनाउन सफल भइन् । पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो । कास्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले हराउँदै नेपाललाई ऐतिहासिक पदक दिलाइन ।

यसअघि पलेशाले पेरिस पारालिम्पिक्स अन्तर्गत रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २–१ को स्कोरमा पराजित गरेकी थिइन् । सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०–८ ले पराजित भएकी थिइन् ।

उनले क्वाटरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन् । उनले यसअघि चीनको ह्वाङझाउमा चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् । पलेशा अघिल्लो संस्करण भने कास्य पदक जित्नबाट चुकेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.