भारतीय सञ्चारमाध्यममा मोदीको आलोचना

0

काठमाडौं, १८ कार्तिक । भारतीय मिडियाले नेपालसँगको सम्बन्ध मोदी सरकारले बिगारेको भन्दै आलोचना गरेका छन् । बुधबार प्रकाशित भारतीय अखबारमा नेपाल–भारत सम्बन्धका बारेमा सम्पादकीय, लेख तथा समाचारले प्राथमिकता पाएका छन् । नवभारत टाइम्सले बुधबारको अंकमा नेपाल–भारत सम्बन्धलाई केन्द्र बनाएर सम्पादकीय नै लेखेको छ । ‘नेपाल असन्तुष्ट किन ?’ शीर्षकमा सम्पादकीय लेख्दै सो अखबारले भनेको छ, ‘आफ्नो सबैभन्दा प्यारो छिमेकी नेपालसँगको हाम्रो सम्बन्ध यति उपेक्षित हुन्छ भन्ने कल्पना दुबै मुलुकमा सायदै कसैले गरेको थियो होला ।’
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आन्तरिक मामलामा भारतलाई दखल नदिन चेतावनी दिएको उल्लेख गर्दै सम्पादकीयमा भनिएको छ, ‘ओलीले भारतमाथि नेपालको तराई क्षेत्रमा हिंसा भड्काएको आरोप पनि लगाएका छन् ।’
सम्पादकीयमा अगाडी लेखिएको छ, ‘यतिमात्र होइन, नेपालले पहिलो पटक चीनबाट इन्धन मगाउन सुरु गरेको छ, अहिलेसम्म उसले केवल भारतबाट इन्धन मगाउँदै आएको थियो ।’
‘भारतलाई आफ्नो सबैभन्दा निकट मान्ने नेपालभित्र कुनै ठूलो भ्रम सिर्जना भएको छ,’ सम्पादकीयमा लेखिएको छ, ‘यस्तो किन भयो ? यो हाम्रो विदेश नीतिका लागि एउटा ठूलो प्रश्न हुनु पर्दछ ।’ सम्पादकीयमा आशंकायुक्त प्रश्न गरिएको छ, ‘हामी नेपाललाई लिएर कहीँ अतिरञ्जित त भएका छैनौं ?’
भारत सरकार पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यकीय बस्तुको आपूर्तिमाथि रोक लगाएर नेपाललाई घुँडा टेकाउन चाहन्छ भन्ने आमधारणा नेपालमा बनेको नवभारत टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ । सम्पादकीयमा भनिएको छ, ‘सम्भवतः बिहार विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै केन्द्र सरकार नेपालका मधेसवादीहरुसँग बढी निकट देखिन चाहन्छ । सबैलाई थाहा छ, मधेसीहरुको बिहारसँग रोटी–बेटीको सम्बन्ध छ । तर हामीले आफ्नो विदेश नीतिमाथि राजनीतिको तत्कालिन दबाबको प्रभाव पर्न दिनुहुँदैन । नेपालसँगको हाम्रो सम्बन्ध अमूल्य छ, कुनै पनि मूल्यमा हामीले यसलाई जोगाउनु पर्दछ ।’
त्यसैगरी ‘हिन्दुस्तान दैनिक’ ले बुधबारको अंकमा किंग्स कलेज, लन्डनका रक्षा विशेषज्ञ हर्ष पन्तको लेख प्रकाशित गरेको छ जसमा नेपाल–भारत सम्बन्धलाई केलाइएको छ । पन्तका अनुसार भारतले नेपालको नयाँ संविधानका बारेमा आफ्नो चासो अप्रत्यक्ष रुपमा पछिल्तिरको ढोकाबाट पेश गरिएको थियो ।
‘संकटले दियो चीनलाई मौका’ शीर्षक लेखमा पन्त लेख्छन्, ‘भारतले नेपालको संविधानका बारेमा पछिल्तिरको ढोकाबाट आफ्नो चिन्ता राख्यो ताकि नेपालको आन्तरिक मामलामा हस्तक्षेपको आरोप नलागोस् ।’
लेखमा भनिएको छ, ‘नेपालका दलहरुले भारतको त्यो चासोलाई ध्यान त दिएनन् नै, विरोध प्रदर्शनलाई मध्यनजर गर्दै केही दिनका लागि संविधान निर्माणको कार्य स्थगित गर्न भारतले दिएको सुझावलाई पनि बेवास्ता गरिदिए ।
पन्तका अनुसार संविधान संशोधनका लागि भारतले सात बुँदे प्रस्ताव पठाएको थियो । ‘तर नेपालको संविधान भारतको भन्दा उत्कृष्ट रहेको नेपाली पक्षको दाबी थियो,’ उनी लेख्छन्, ‘नयाँ दिल्लीले यो स्थितीलाई धेरै राम्रो तरिकाले सुल्झाउन सक्थ्यो भन्नेमा शंका छैन ।’ उनले नेपाल–भारत सम्बन्धमा देखिएको तिक्तताकै बीचबाट चीनले नेपालमा आफ्नो पहुँच बढाउन थालेको टिप्पणी पनि लेखमार्फत गरेका छन् ।
उनी लेख्छन्, ‘यसो भन्नु अतिशयोक्ति नहोला कि, यस्तो बेलामा जब नेपालमा चीनको तुलनामा भारतले आफ्नो पकड गुमाउँदै गएको छ, मोदी सरकारसँग काठमाडौंसँगको सम्बन्धलाई नयाँ दिशा दिने मौका थियो । तर सत्य त यो छ कि यस हिमाली मुलुकमा संकटको कारक भारतलाई देखाइने गरेको छ ।’

Leave A Reply

Your email address will not be published.