शवको पहिचान कार्य सुरु

0

धुन्चे, १८ कात्तिक । रसुवामा मङ्गलबार दिउँसो भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये अहिलेसम्म १८ जनाको सनाखत भएको छ । प्रहरी नायब उपरीक्षक अवधेश विष्टका अनुसार सनाखत हुनेमा रसुवा हाकु–८ का ३४ वर्षीय बुद्धिबहादुर तामाङ र ४५ वर्षीय रिसाङ तामाङ, नुवाकोट गेर्खु–८ का २३ वर्षीय विष्णुप्रसाद घिमिरे, चिलिमे–६ का १९ वर्षीय पासाङछिरिङ तामाङ, रसुवा श्रमथली–८ का २८ वर्षीय सुवासकर्म लामा, घोर्ले–७ की ५५ वर्षीया बाटुली तामाङ, घोर्ले–४ की ५५ वर्षीया सोममाया थिङ, २२ वर्षीय लालकाजी तामाङ, ५५ वर्षीय शान्तिमाया थिङ, नुवाकोट जिल्ला चारघरे–५ बस्ने २८ वर्षीय रामजी भनिने भूमिनन्द रिजाल छन् ।
त्यस्तै चारघरे–४ का २९ वर्षीय दुर्गाप्रसाद भट्ट, रसुवा धैबुङ–९ की ४४ वर्षीया चरीमाया लो, १९ वर्षीय दिनेश मोक्तान, २६ वर्षीया इन्दिरा तामाङ, गोल्जुङ–३ का ३८ वर्षीय मेङ्दो साङ्मु, २३ वर्षीय छेवाङ घले, रसुवा चिलिमे–२ का ४० वर्षीय ल्ह्लाक्पा तामाङ र चिलिमे–१ का ल्ह्लाक्पा छोमो तामाङ रहेका छन् ।
रसुवाको राम्चे–३ ग्राङ भिरमा ना३ख ५७०६ नंको यात्रुबस सडकबाट करिब ५०० मिटर तल पुगी दुर्घटना हुँदा घटनास्थलमा नै २९, धुन्चे अस्पतालमा एक बालक, त्रिशूली अस्पतालमा पाँच र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ५० जनामध्ये त्रिशूली अस्पतालमा पाँच, धुन्चे अस्पतालमा पाँच र अन्य ४० जना यात्रुको त्रिवि शिक्षण र वीर अस्पतालमा उपचार भइरहेको छ । उपचार गराइरहेका धेरैजसोको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.