सिन्धुपाल्चोककाे इन्द्रावती नदीमा पहिरो, सतर्क रहन आग्रह

0

मेलम्ची \ सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ तिपेनीमा गएको सुख्खा पहिरोका कारण इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ। नदी आंशिक रुपमा थुनिँदा  मेलम्ची, तिपेनी लगायत तटीय क्षेत्रका नागरिकहरू त्रसित भएका छन् । गएराति देखि आएको पहिरोका कारण इन्द्रावती नदीको बहाव रोक्न सक्ने भन्दै तिपेनी बजार र इन्द्रावती नदी किनारका नागरिकहरू त्रसित भएका हुन् ।

अझै पनि सुख्खा पहिरो झरिरहेकाले के हुन्छ भन्न सक्ने अवस्था नभएको स्थानीय बताए । पहिरोका कारण पाँच पोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ भने खोला थुनिएमा तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजार लगायतको नदी तटीय क्षेत्रमा प्रत्यक्ष असर गर्ने छ । अहिले गाउँपालिकाका अध्यक्ष टासी लामा, अन्य जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीयहरू पहिरोको अवस्थाबारे निरीक्षणमा गएका छन्।

स्काइभेक्टरको सहयोगले थुप्रिएको गेग्रान पन्छाउन सकिन्छ कि भनेर प्रयास गरिरहेको गाउँपालिकाका विपद् फोकल पर्सन युवराज भट्टराईले जानकारी दिए । पहिरो खसेको भागमा ढुङ्गा,गेग्रान,माटो थुप्रिएर बसेका कारण थप ठुलो मात्रामा पहिरो झरेमा नदी थुनिने प्रबल सम्भावना रहेको स्थानीय दिनेश श्रेष्ठले  बताए।

Leave A Reply

Your email address will not be published.