देशभर वर्षा, नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

0

काठमाडौं \ बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा भएसँगै खोला तथा नदीहरुमा पनि बहाव बढेको छ ।

आज बिहान कपिलवस्तुको भगवानपुर, दाङको लालमटिया, रोल्पाको लिवाङ, बाँकेको नेपालगञ्ज एयरपोर्ट र खजुरा, बर्दियाका रम्भापुर र रानीजरुवा, दैलेखको कट्टी र कैलालीको टीकापुरमा मध्यमदेखि भारी वर्षा भएको छ । ६ घण्टाको अवधिमा गोरखाको आरुघाट र पर्साको मुडलीमा पनि भारी वर्षा मापन भएको छ ।

विगत १२ घण्टाको अवधिमा देशका अधिकांश स्थानमा वर्षा भएको छ । १२ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा रुपन्देहीको भैरहवामा मापन भएको छ । त्यहाँ १७८ मिलिमिटर वर्षा मापन भएको छ ।

अहिले वर्षा बागमती र लुम्बिनी प्रदेशमा बढी भइरहेकाले खोला तथा नदीहरुमा बाढीको जोखिम बढेको छ ।

काठमाडौं उपत्यकास्थित वाग्मती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा रहने र यात्रा गर्नेहरुलाई बिहान १० सम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यसैगरी कपिलवस्तु जिल्लाको भगवानपुर, दाङ जिल्लाको लालमटिया र बागासोती, प्युठान जिल्लाको हन्सपुर, माडी नदी र बिजुवार, रोल्पाको सुलिचौर र लिबाङ गाउँ तथा ती स्थानका आसपासमा सामान्यदेखि मध्यम वर्षा भएकाले बाढीको जोखिम छ ।

प्युठान जिल्लास्थित लुंग्री नदीको खुंग्री जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । दैलेख जिल्लास्थित कट्टी वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । ६ घण्टाको अवधिमा त्यहाँ ११६.२ मिलिमिटर वर्षा भएको छ ।

Leave A Reply

Your email address will not be published.