गायक प्रकाश तिमिल्सिनाको निधन

0

गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । हिजो बेलुका ललितपुरको भैँसेपाटी डेरामा अचेत अवस्थामा भेटिएका उहाँलाई परिवारका सदस्य र आफन्तले तत्काल पाटन अस्पताल पुर्‍याएका थिए । तर डाक्टरले मृत घोषणा गरे । तिमिल्सिनाको शव अहिले बिहान सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने सङ्गीतकार चेतन सापकोटाले जानकारी दिनुभयो ।

तिमिल्सिनाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् । सुनसरीका स्थायी बासिन्दा तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाउनुभएको थियो । उहाँका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘तिम्रो हातको सिन्दूर’, ‘नमान लाज यसरी’, ‘तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म’, ‘नआए नि हुन्थ्यो’ लगायतका गीत छन् । उहाँले बाल्यकालमै आँखाको ज्योति गुमाउनुभएको थियो ।

गायक तिमिल्सिनाको निधनमा सङ्गीतकर्मी, शुभेच्छुक, सर्वसाधारणलगायतले सामाजिक सञ्जालमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । सङ्गीतकर्मी टीका भण्डारीले ‘कोशीमा बाढी आउँदा २०४५ सालमा तिमी बाँच्यौं अनि नेपाली सङ्गीतमा धेरै गर्‍यौ’ भनेर लेख्नुभएको छ । भण्डारीका अनुसार यो घटना हुँदा तिमिल्सिना नौ महिनाको हुनुहुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.