बेलायत \ सन् १९७१ मा पाकिस्तानबाट छुट्टाई स्वतन्त्र बंगलादेश बनाउन अग्रणी मानिएका बंगलादेश स्वतन्त्रता आन्दोलनका महान प्रजातन्त्रवादी नेता,राष्ट्रपिता,प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानका छोरी, बंगलदेशको तीन कार्यकालको लागी प्रधानमन्त्री शेख हसिना आज देश छोडेर हेलिकप्टरको सहारा लिँदै भागिन्। यस अघि अफगानिस्तानका राष्ट्रपति असारफ घानी भागे। त्यस पछि श्रीलंकाको राजापक्ष परिवारै देश छोडेर भागे।
श्रीलङ्कामा राजापक्ष परिवारले प्रजातन्त्रको नामबाट २० वर्ष शासन गरे तर राजापक्ष परिवार पनि लखेटिएर लिवियाका कर्नेल कद्दाफी,पाकिस्तानका जियाउल हक,रुमानियाको चाउचिस्को पनि जनताको आन्दोलनबाट बढारिएर जिम्बाबेमा रोवर्ट मुगाबेले ४५ वर्ष शासन गरे तर अन्तत लखेटिएर मलेसियामा महाथिरले २० वर्ष शासन गरी राम्रै गरे तर ९७ वर्षमा पनि लोभले नछोड्दा संसदीय चुनाव हारे। उनको पार्टी पनि नराम्ररी पराजय भयो।इजिप्टमा होस्नी मुवारकले ४० वर्ष शासन गरे तर मुवारक पनि लखेटिए।
रसियामा भ्याल्दामिर पुटिनले २५ वर्ष देखि शासन गरिरहेछन् तर प्रत्येक दिन असफल भइरहेछन् र केही वर्षमा लखेटिने नै हुन्। प्रजातन्त्रको नाममा होस वा अधिनायकवादको नाममा होस,जनविरोधी काम गर्नेहरु अन्तत लखेटिनै नै हुन्। यस्ता उदाहरण अरू प्रशस्त दिन सकिन्छ। जनताको कुरा नसुन्ने,पार्टीको नीति सिद्धान्त भुल्ने, शहिदको सपना कुल्चने, शासनमा रहि राज्य दोहन मात्र गरिरहने,अकुत सम्पति मात्र आर्जन गर्न लिप्त रहने, हरेक संस्थामा राम्रा हैन, आफ्ना मान्छे मात्र भर्ति गराई शासकीय संस्थाहरु क्रमवद्ध रूपमा कमजोर बनाउने, पार्टी भित्र प्रतिद्धन्दी लाई पेलेरै लान्छु भन्ने र संसदमा विपक्षी सदैव पेल्ने, जसरी पनि शासनमा मात्र रहे सुरक्षित हुन्छु भनि ठान्ने, ३५ वर्ष शासनमा रहँदा झिङ्गा समेत मार्न नसक्ने राक्षस, दानवीय प्रवृतिको शासकहरु पनि नेपाल बाट लखेटिने दिन धेरै छैन। वस,समयको कुरा मात्र हो। हविगत उही बंगलादेश र श्रीलंकाको दिन आउन टाढा छैन।
राजनीति भनेको जसरी पनि पद प्राप्ति गर्नु र सत्तामा पुग्नु मात्र होइन। नेपालका राजनीतिज्ञ नेताहरूले यो कुरा गहिरो सँग मनन गरुन्। पछिल्लो निर्वाचन पछि जनतामा देखिएको पुराना दल प्रतिको वितृष्णा र नयाँ दलको उदयलाई ध्यान दिनुपर्ने हुन्छ। पुराना दलहरूको कार्यशैली आजित भएर जनता केही परिवर्तन खोजिरहेका छन्।
यो मागलाई बेलैमा बुझेर स्वच्छ छवि भएका अनुहारलाई अगाडी बढ्न नलगाउने हो भने राजनीति अवसान भएका विश्वमा धेरै उदाहरणहरू छन्। राजनीतिक दलका नयाँ पुस्ता र जनताको आवाजलाई सुनौँ र मनन गरौँ। नत्र धेरै ढिलो भइसक्ने छ । प्रजातन्त्रको परिपाटीको नामबाट होस वा अन्य व्यवस्थाको नामबाट होस,देशको शासनमा लामो समय लिप्त हुँदा वा लोभ गर्दा अन्ततः असफल भई लखेटिने अवस्था सिर्जना हुन्छ। शासनमा धेरै लोभ गर्दा एक दिन लखेटिने कुरा अवश्य छ।
संसारका धेरै राजनेता, जसले शासनमा लामो शासन नगर्दा वा लोभ नगर्दा वा लिप्त नहुँदा पुजिएका उदाहरण धेरै छन्। नेल्सन मन्डेलाले जनप्रियताको उचाइमा पुगी एकपल्ट राष्ट्रपति भएपछि अर्को कार्यकाल चाहेनन्। यसले गर्दा उनको इज्जत विश्वव्यापी रूपमा झन् बढ्यो। यदि उनी सत्ता लिप्सामा लागेका भए यो सम्मान सधैँका लागि रहने थिएन। यही उदाहरणमा भुटानका राजा जिग्मे सिंगे वाङचुकलाई पनि लिन सकिन्छ। निरङ्कुश राजतन्त्र भएको देशमा आफू आजीवन राजा हुने सम्भावना रहे पनि उनी ५४ वर्षको उमेरमा छोरालाई गद्दी सुम्पिएर साधनामा लागे ।
महात्मा गान्धीले चाहेका भए आफैँ राष्ट्रपति र प्रधानमन्त्री बन्न सक्थे। नेपालमा पनि गणेशमान सिंहले राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गरे पनि आफ्ना कठिनाइ सुनाउँदै कृष्णप्रसाद भट्टराईको नाउँ सिफारिस गरे।आज पश्चिमेली देशका धेरै नेताहरू आफ्ना दलले चुनाव हारे या आफैँले लिएको निर्णय जनताले नरुचाए सहज रूपमा सत्ता वा दलको नेताबाट अलग भएका प्रमाणहरू पाइन्छन् । राहुल गान्धीले आफ्नो दलले निर्वाचनमा कमजोर प्रदर्शन गरेपछि दलको अध्यक्षबाट राजीनामा गरे तर उनी आज भारतीय कांग्रेसलाई जगाउन भारत यात्रामा लागे।
ताइवानकी राष्ट्रपतिले आफ्ना उम्मेदवारले चुनाव हारेकाले कार्यकारी राष्ट्रपति जस्तो शक्तिशाली पदबाट राजीनामा दिने घोषणा गरिन्। तसर्थ यो अवस्थामा इतिहासको यो यथार्थ पुनः सबैलाई सम्झाएँ। रामले किष्किन्धा जिते। सुग्रीवले रामलाई नै राजा बन्न आग्रह गरे। राम मानेनन्। मित्र सुग्रीवलाई नै राजा बनाए। रामले लंका जिते। विभीषणले रामलाई नै राजा बन्न आग्रह गरे। लक्ष्मणले त जोड नै गरे।तर राम मानेनन्। विभीषणलाई राजा बनाए। हिन्दुस्थानमा सन् १९४७ अगष्ट १५ पछि सबै नेताहरूले महात्मा गान्धीलाई सरकारको नेतृत्व गर्न आग्रह गरे। गान्धी मानेनन्। जवाहरलाल नेहरूलाई प्रधानमन्त्री बनाए। टाढा टाढाको उदाहरण दिनु तिर लाग्दा आफ्नै देशका महान् व्यक्तित्व हाम्रा श्रद्धेय नेता गणेशमान सिंहले पनि राजा वीरेन्द्रले प्रधानमन्त्री पदको अफर गर्नु भएकोमा अस्वीकार गर्दै कृष्णप्रसाद भट्टराईको नाम सिफारिस गरेको ऐतिहासिक तथ्य पुनर्ताजगी गराउन चाहान्छु।
शेख हसिना,राजापक्ष,रोवर्ट मुगाबे,होशनी मुबारक,कर्नेल गद्दाफी,महाथिर,जियाउल हक,चाउचिस्को रोवर्ट मुगाबे जस्तै धेरै किन जनताबाट लखेटिए ? नेपालका नेताले इतिहास पढ्नु र सिक्नु र जनताले लिने,दिने निर्णयमा कसैले झस्कनु पर्दैन।जनता बलवान छन्। २०४८ देखि आज सम्म करिब ३३ वर्ष सम्म हामी प्रतिवद्धता व्यक्त गरे अनुसार कहाँ कहाँ चुक्यौं, कहाँ कहाँ कमजोरी गऱ्यौ, यी तमाम विषयमा समीक्षा गरि नहिड्ने हो भने हामी यथास्थितीमा चलिरहे हामी खस्कन सक्छौं। जनतालाई उल्टो गाली गलौज गर्नु भन्दा अब भविष्यमा कसरी जनविश्वास जित्न सकिन्छ भनि गहन विश्लेषण र उचित आचरण, व्यवहार गर्नुको विकल्प छैन।
आजको नेताको सोच यस्तो झल्कन्छ कि नेता मै हुँ, आन्दोलन मै हुँ, सिंहदरवार सदैव मेरो पूर्खाले मलाई दिएको हो । धनि पनि मै हुँ, विवेकी पनि मै हुँ, निर्णय लिने पनि मै हुँ । बलवान पनि म नै हुँ । इतिहाँस पनि मेरो मात्रै हो । भौतिक सुविधा सम्पन्न पनि मेरो मात्रै छ । मेरा अगाडी अरु सबै बिचरा हुन् । सबै प्रजा हुन । अरु सबै दास हुन । यो भन्ने सोच राख्नेहरु भन्नेहरु महाभारतका दुर्योधन हुन्,दुर्योधन ती थिए जसको आँखा उनको बुबा धृतराष्ट्र जस्तो अन्धो नभए पनि ज्ञानमा भने अन्धो थियो। दुर्योधनको त्यो अन्धो ज्ञानको अहंकारले महाभारतको युद्ध भयो। आखिर त्यो अहंकारी दुर्योधनहरु समय बित्दै जाँदा सकिए। एक पटक पुःन गीता उपदेश पढि उचित ज्ञान लिई संमृद्ध नेपाल बनाउन अघि बढ्नुको विकल्प छैन।
–रामकृष्ण त्रिपाठी, बेलायत