विभिन्न क्षेत्रका नदी तथा खोलामा पानीको बहावसँगै जोखिम बढ्यो : सतर्क रहन अनुरोध

0

देशका विभिन्न ठाउँमा अहिले मध्यमदेखि ठूलो वर्षा भइरहेको छ । कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशको केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा पनि गएरातिदेखि नै ठूलो पानी परिरहेको छ । महाशाखाकाअनुसार मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले गएरातिदेखि देशका धेरै ठाउँमा पानी परेको हो । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सप्तरीको रुपनी बजारमा १ सय ८६ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ ।

मोरङको हरैचा, सिन्धुपाल्चोकको बाहुनेपाटी, चितवनको शक्तिखोर, उदयपुरको मुर्कुची बजार, सुनसरीको धरान, महोत्तरीको गौशाला, धनुषाको तुल्सी, ललितपुरको गोदावरी, म्याग्दीको मुनालगायतका जल मापन  केन्द्रमा पनि ठूलो वर्षाको मापन भएको छ ।

भोलिसम्म देशका केही ठाउँमा निकै ठूलो र ठूलो वर्षा हुने पूर्वानुमान गरिएको छ । आज दिउँसो कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा अतिदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको छ । रातिको समयमा झन् धेरै वर्षा हुने अनुमान महाशाखाको छ ।

भोलिसम्मै निरन्तर अत्यधिक वर्षा हुने महाशाखाको भनाइ छ । अति ठूलो वर्षा हुने क्षेत्रमा बाढीपहिरोको जोखिम हुने भएकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाले यसअघि नै विशेष बुलेटिन निकालेर भोलिसम्म मनसुन सक्रिय हुने जनाएको थियो । यो समय अति जोखिम हुने भएकोले प्रतिकार्यका लागि समेत तयार हुन भनिएको छ ।

काठमाण्डौ उपत्यकाका नदी तथा खोलामा जल सतह बढेको छ । जलसतह अहिलेसम्म सतर्कता तहभन्दा तलै रहेपनि उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ । मकवानपुर, झापा, सप्तरी, मोरङ, सुनसरीका विभिन्न ठाउँमा ठूलो वर्षा भएकोे छ ।

मकवानपुरको बकैया नदी जुरेलीबजार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । नदी तटीय क्षेत्रमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । सप्तरीको मौली खोला र खाडो खोला लगायत अन्य साना खोलामा बहाव बढ्ने भएकाले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.