प्रजातन्त्र सेनानीलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति

0

काठमाडौँ \  राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनर्स्थापनाको अविश्राम र अथक सङ्घर्षका कष्टकर क्षण व्यतीत गर्ने प्रजातन्त्र सेनानीहरूको त्याग र सङ्घर्षको राज्यले उचित कदर र सम्मान गन्नुपर्ने बताउनुभएको छ ।

प्रजातन्त्रका लागि सङ्घर्ष गरेका प्रजातन्त्र सेनानीहरूसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।

“प्रजातन्त्र सेनानीहरूले विगतमा गर्नुभएको योगदानको कदर गर्नुहुँदै उहाँहरूलाई सरकार र सम्बन्धित निकायले दिनुपर्ने सम्मान, सुविधा र सहयोगमा कुनै कन्जुस्याइँ हुने छैन भन्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले स्वतन्त्रता सेनानीहरूले राखेका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । “नेपालमा प्रजातन्त्र स्थापना र पुनर्स्थापनामा तपाईँहरूको संर्घष, त्याग र योगदान महत्त्वपूर्ण छ, अहिले तपाईँहरूलाई राज्यले जे जति गर्नुपर्ने थियो त्यो भइरहेको छैन भन्ने मैले महसुस गरेको छु”, उहाँले भन्नुभयो ।

शहीद र प्रजातन्त्र सेनानीहरूको त्याग, बलिदान र सङ्घर्षका कारण अहिले हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पाएको उहाँको भनाइ थियो ।

“राजनीतिक स्थायित्व, सुशासन र जनताको आकाङ्क्षा पूरा हुन सकेमात्र मुलुक विकासको बाटोमा अघि बढ्छ, हामीले अपनाएको शासन प्रणाली सुदृढ हुन्छ र लोकतान्त्रिक मूल्यमान्यता, आदर्श र निष्ठाका साथ हाम्रा अग्रजहरूले गरेको त्याग र सङ्घर्षले सार्थकता पाउनेछ”, राष्ट्रपति पौडेलले भन्नुभयो । यसमा सबै लोकतन्त्रप्रेमीहरू सधैँ सचेत र जागरूक रहनुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीहरूका लागि राज्यले दिनुपर्ने सुविधा र सम्मानबारे राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.