सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन तीन दलको संयुक्त आग्रह

0

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिन नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टी संयुक्त रूपमा आग्रह गरेका छन् । आज धनगढीमा पत्रकार सम्मेलन गरी तीन दलका नेताले प्रदेशसभामा अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री सोडारीलाई तत्काल पदबाट राजीनामा दिन आग्रह गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीले तत्काल राजीनामा दिँदा नयाँ सरकार गठन र बजेट ल्याउन सहज हुने बताउनुभयो । एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्मा, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले पनि मुख्यमन्त्री सोडारीलाई राजीनामा गर्न आग्रह गर्नुभयो ।

गएको वैशाख ६ मा एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर संघमा नयाँ सत्ता समीकरणसँगै एमालेले गएको असार २३ गते मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा पर्नुभएको हो ।

एमालेले सरकारबाट बाहिरिएसँगै सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेट पारित हुने वा नहुने अन्योल छ । बजेट माथिको छलफल प्रदेशसभामा अझै शुरु हुन सकेको छैन । नयाँ गठन हुने सरकारले सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित नगरेर अध्यादेशमार्फत अर्को बजेट ल्याउने तयारी गरेको कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धाँमीले बताउनुभयो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपा र स्वतन्त्र एक/एक सदस्य छन् ।

Leave A Reply

Your email address will not be published.