काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दलबिच लुकेर राष्ट्रिय सहमति नहुने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने क्रममा प्रचण्डले कांग्रेस एमाले दुई दल आफैँ मिलेको सत्य नभएको बताए ।
उनले भने– ‘दुई दल आफैँ मिलेको हैन, तपाईंहरुलाई कसैले मिलाएको हो । किन मिलाएको हो, घाम जतिकै छर्लङ्ग छ । सिधै कांग्रेस एमाले मिल्न लागेको भनेर राष्ट्रिय सहमतिको झुटको बर्को ओढी राख्नुभएको छ । आफ्नो पङ्क्ति र जनतालाई गुमराह गर्ने कोसिस भइरहेको छ । राष्ट्रिय सहमति लुकेर हुँदैन । राष्ट्रिय सहमति सदनमा भएका सबै दलहरूलाई राखेर बिचार विमर्श गरेर मात्र हुन सक्छ ।’