मेलम्चीकाे पानी बाह्रै महिना काठमाण्डाै ल्याउन ‘हेडवर्क्स’ सार्नुपर्ने

0

मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ सारेपछि मात्रै काठमाण्डौ उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने खानेपानी मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले काठमाण्डौ उपत्यकामा दीर्घकालसम्म पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स नै सानुपर्ने बताउनुभएको हो । उहाँले साविककै हेडवर्क्सबाट पानी ल्याउन नसकिने स्पष्ट पार्नुभयो ।

यस्तै मेलम्ची खानेपानी आयोजनाका प्रमुख रत्न लामिछानेले पनि मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स कडा चट्टान भएको ठाउँमा सार्नुपर्ने बताउनुभयो । उहाँले हेडवर्क्स सार्नका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति पाइसकेको जानकारी गराउनुभयो ।

२०७८ साल असार १ गतेको बाढी, पहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा क्षति पुगेको थियो । त्यसयता हेडवर्क्समा थप क्षति हुन नदिन भन्दै बर्खाको समयमा मेलम्चीको पानी काठमाण्डौ ल्याउन बन्द गरिँदै आएको छ ।

यसैबीच संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाण्डौ उपत्यकामा खानेपानी ल्याउने सुझावसहितको प्रस्ताव पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाण्डौ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानका लागि सुझावसहितको प्रस्ताव समितिसमक्ष पेश गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा समितिले खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिव र सम्बन्धित निकायका पदाधिकारीहरूसँग काठमाण्डौ उपत्यकाभित्र मेलम्ची खानेपानी वितरण एवम् सहज आपूर्तिका लागि देखिएका समस्या, चुनौतीलगायतका विषयमा छलफल गरेको थियो ।

Leave A Reply

Your email address will not be published.