विपी, सिद्धार्थ र कर्णाली राजमार्गसहित विभिन्न सडक अवरुद्ध

0

रातभर परेको झरीले देशका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । देशभर ११ वटा सडकखण्ड अवरुद्ध बनेका सडक विभागले जनाएको छ । काठमाण्डौ जोड्ने विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–२ कमिरेफाँटमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

यस्तै मध्य पहाडी राजमार्गअन्तर्गत सिन्धुलीकै गोलन्जोर गाउँपालिका वडा नम्बर– ६ अकबरे भिरमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । अहिले सडकमा खसेको पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यस्तै काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका वडा नम्बर–३ पाङ्दुर गैरीमा पहिरो जाँदा सडक अवरुद्ध छ । यस्तै इन्द्रसरोवर गाउँपालिकाको पाटेमा खसेको पहिरो पन्छ्याउने काम भइरहेको छ । यो सडकअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–८ प्रतापडाँडामा गएराति एक बजे खसेको पहिरो हटाइएको छ ।

यस्तै कर्णाली राजमार्गको कालिकोटमा लेदोसहितको पहिरो खसेपछि गाडीको आवतजावत बन्द भएको छ । खाँडाचक्र नगरपालिका–२ को सेरिघाट र शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरोले सडक अवरुद्ध छ ।

यस्तै सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको बर्तुङमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । पहिरोले अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडकअन्र्तगत गुल्मीको रिडी–पुर्तिघाट सडक पनि अझै खुल्न सकेको छैन ।

कालीगण्डकी करिडोरकै म्याग्दीमा पनि पहिरो गएको छ । भालुवाङ–लिवाङ–रोल्पा माडिचौर दारबोट जोड्ने सडक पनि पहिरोले क्षति पु¥याएको छ । कोशी राजमार्गअन्तर्गत रानी–विराटनगर–इटहरी धरान, हिले र लघुवाघाट–खाँदबारी–किमाथाङ्का सडक पनि पहिरोले अवरुद्ध नै छ ।

Leave A Reply

Your email address will not be published.