पाल्पाका १० स्थानीय तहमा पूर्णखोप सुनिश्चितता घोषणा

0

रामपुर (पाल्पा) \  पाल्पाका १० वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । चालु आर्थिक वर्षमा घोषणा हुन बाँकी रहेको रामपुर नगरपालिकालाई बुधबार घोषणा गरिए सँगै जिल्लाका सबै पालिका पूर्णखोप सुनिश्चितता घोषित भएको हो  ।

जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल, समितिका सदस्य सचिव डा .राजेन्द्रकुमार गिरीले रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापालाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण पत्र प्रदान गरी रामपुरलाई पूर्णखोप सुनिश्चितता घोषणा गर्नुभएको थियो । नगर भित्रका १० वटै वडालाई पूर्णखोप सुनिश्चिता घोषणा गरेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिना सम्मका ६ सय ८ र १६ महिना देखि ५९ महिना सम्ममा २ हजार १४० जनाले पूर्णखोप प्राप्त गरेको तथ्याङ्क रहेको स्वास्थ्य शाखाका प्रमुख गिरिराज घिमिरेले बताउनुभयो ।

वैशाख महिनामा महिला स्वास्थ्य स्वंसेविका, स्वास्थ्यकर्मी परिचालन गरी सबै वडामा खोज र खोप अहिभाया सञ्चालन गरिएकोमा एकजना बालिका नियमित खोप लगाउन छुटेको पाईएको र अहिले नियमित खोपको मात्रा पुरा गर्ने क्रममा रहेको घिमिरेले बताउनुभयो । जन्मेदेखि १५ महिनासम्म र १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई दुई समूहमा वर्गीकरण गरेर खोप अभियान संचालन गरिएको थियो ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र कुमार गिरीले पाल्पालाई २०७० फागुन १३ गते नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको र संघीयता पश्चात २०७९ देखि पाल्पालाई निरन्तर पूर्णखोप सुनिश्चितता जिल्ला घोषण गर्न सफल भएको बताउनुभयो । यस वर्ष पनि रामपुर सँगै १० वटै पालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको र जिल्लालाई औपचारिक रुपमा  घोषणा गर्न बाँकी रहेको जानकारी दिनुभयो । पूर्णखोप सुनिश्चिता कार्यक्रमले ५ वर्षमुनिका बालबालिकाले पाउने १३ प्रकारका खोप मध्ये कुनै तरिकाबाट छुटेका भएपनि पुन समेटिने भएकाले निकै प्रभावकारी भएको बताउनुभयो ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले नागरिकको स्वास्थ्यका लागि राज्यले खोपमा ठूलो धनराशी खर्च गर्दै आएको बताउँदै खोपलाई सामान्य रुपमा लिन नहुने बताउनुभयो । स्वास्थ्य र शिक्षामा गरिएको लगानी तत्काल नदेखिने भए पनि बालबालिकाको भविष्यमा यसको महत्वपूर्ण प्रभाव रहने बताउनुभयो । पूर्णखोप कार्यक्रमले विभिन्न रोगहरु बाट बचाउन, बाल मृत्युदर तथा मातृ मृत्युदर घटाउन, औसत आयुमा वृद्धि गर्न सहयोग गरेको बताउनुभयो ।

रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले दिर्घकालीन विकास भनेको स्वास्थ्य र शिक्षामा लगानी भएको भन्दै नगरले विगतको वर्षको तुलनामा थप कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । पूर्ण खोप सुनिश्चिचताको लागि जिम्मेवार भएर निरन्तर रुपमा लाग्न स्वास्थ्यकर्मीलाई अनुरोध गर्नुभयो । उपप्रमुख बालकुमारी थापाले सामाजिक विकास विना पूर्वाधार विकासले सार्थकता नपाउने भन्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगरपालिका लागि परेको बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले पूर्ण खोप पाउनु बालबालिकाको अधिकार भएकाले सुनिश्चितताका लागि सबै जना सहकार्य गर्दै लाग्नु पर्नेमा जोड दिनुभयो।

Leave A Reply

Your email address will not be published.