आज पहिलो अन्तर्राष्ट्रिय खेल दिवस नेपालमा पनि मनाइँदै

0

खेलमय अभिभावकत्वको नारासहित आज पहिलो पटक अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ । हरेक बालबालिकाको खेल्न पाउने अधिकार सुनिश्चित गर्न हरेक वर्ष जुन ११ तारिखमा मनाइने यो दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले सरकार, हेरचाहकर्ता, शिक्षक र समुदायलाई एकजुट भए आफ्ना प्रयास र लगानी बढाउन आह्वान गरेको छ ।

युनिसेफ नेपालका प्रारम्भिक बालविकास विज्ञ डा. दीपु शाक्यले खेल रमाइलोका लागि मात्र नभइ यसले बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक तथा बौद्धिक विकासमा सहयोग गर्ने बताउनुभयो । खेलका माध्यमबाट बालबालिकाले अरुसँग सम्बन्ध बनाउन, नेतृत्व सीप तथा प्रतिरोधी क्षमता विकास गर्न, सम्बन्धको खोजी गर्न, सामाजिक चुनौती चिन्न सक्षम हुने डा. शाक्यले बताउनुभयो ।

विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रिय रुपमा संलग्न गराउन खेलमा आधारित सिकाइलाई प्रभावकारी पद्धतिका रुपमा मान्यता दिने पनि युनिसेफ नेपालले जनाएको छ । बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिले धारा ३१ अन्तर्गत खेललाई हरेक बालबालिकाको मौलिक अधिकारका रुपमा स्थापित गरेको छ । नेपाल यो महासन्धिमा सबैभन्दा पहिला हस्ताक्षर गर्ने देशहरुमध्ये एक हो ।

Leave A Reply

Your email address will not be published.