सहकारी प्रकरणमा व्यक्तिको नामै तोकेर छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको अडान

0

नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरेरै छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको छ ।

आज बिहान कांग्रेस नेताहरूको आन्तरिक छलफलले गोर्खा मिडिया नेटवर्कको नाममात्र लिएर नपुग्ने भन्दै कम्तीमा त्यहाँ संलग्न व्यक्तिहरू कोको हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन नसक्ने निष्कर्षसहित व्यक्तिको नाम किटान गर्नुपर्ने अडानमा कायम रहने निर्णय गरेको बैठकपछि सहमहामन्त्री जीवन परियारले बताउनुभयो ।

आज कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बूढानीलकण्ठ पुग्नुभएको छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा पनि सभापति देउवाले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर जानुपर्ने कांग्रेसको अडानबारेमा जानकारी गराउनुभएको सहमहामन्त्री परियारले बताउनुभयो ।

सहकारीकै विषयलाई लिएर कांग्रेसले आजै काठमाण्डाैमा विरोध प्रदर्शन गर्दैछ । कांग्रेसले सहकारी पीडितहरूको न्यायको माग गर्दै सदन र सडक दुवै ठाउँबाट दबाब दिन लागेको हो ।

छानबिन समितिको कार्यदेशमा सहमति हुन नसक्दा आजको प्रतिनिधि सभाको बैठक झन्डै एक घण्टापछि शुरु भएकाे छ । प्रतिनिधि सभाको बैठकमा आज सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्ने कार्यसूची छ ।

Leave A Reply

Your email address will not be published.