सहकारी रकम हिनामिना : कांग्रेसले सडक आन्दोलन गर्ने

0

नेपाली कांग्रेसले सहकारी रकम हिनामिनाबारे संसदीय छानबिन समिति गठनको दबाब दिन सडक आन्दोलन गर्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सदनसँगै सडक आन्दोलन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले जानकारी दिनुभयो । रवि लामिछाने गृहमन्त्री भएपछि आफूमाथि भइरहेको अनुसन्धान रोकेको र प्रमाण नष्ट गर्न भूमिका खेलेको कांग्रेसको निष्कर्ष छ ।

सहकारी बचतकर्ताको बचत फिर्ता हुनुपर्ने मुख्य माग राख्दै पहिलो चरणमा पर्सि शुक्रवार काठमाण्डाैकाे भृकुटीमण्डपमा आन्दोलन गर्ने र त्यसपछि ठगी भएका ठूला सहकारी रहेका शहर पोखरा, बुटवलमा आन्दोलन गर्ने कांग्रेसले जनाएको छ ।

सहकारीको बचत अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेर सदनमा अवरोध गर्दै आएको छ । सहकारीको बचत अपचलन, हिनामिना, ठगी र दुरुपयोगका सन्दर्भमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सैद्धान्तिक सहमति भए पनि समितिको कार्यादेशबारे सहमति जुटेको छैन ।

Leave A Reply

Your email address will not be published.