प्रहरी र प्रदर्शनकारीबीच झडप, ३० राउण्ड हवाई फायर

0

जनकपुरधाम, ७ कात्तिक । धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच गएराति झडप भएको छ । झडपका क्रममा प्रहरीले गरेको लाठी र गोली प्रहारबाट करिब ११ जना आन्दोलनकारी घाइते भएका छन् । राति करिब २ बजे प्रहरीले स्कर्टिङ गरेर यात्रुबाहक बस र विभिन्न मालबाहक गाडी लगिरहेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेका थिए ।
प्रदर्शनकारीले गाडीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी करिब ३० राउण्ड हवाई फायर गरेको थियो ।
प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा करिब ११ जना प्रदर्शनकारी घाइते भएको बताइएको छ । घाइतेमध्ये अधिकांशको शरीरमा गोलीको छर्रा लागेको छ । आन्दोलनकारीले केही सवारीसाधनमा पेट्रोल बमसमेत प्रहार गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रामदत्त जोशीले सवारीसाधनलाई गन्तव्यतर्फ पु-याउने क्रममा प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्न थालेपछि परिस्थितिलाई नियन्त्रण २५ देखि ३० राउण्डसम्म हावामा गोली चलाउनुपरेको जानकारी दिनुभयो ।
प्रदर्शनकारीले दुई वटा बसको सिसा फुटाइदिएका छन् । ढुङ्गा लागेर एक जना चालकको टाउको फुटेको छ भने एक जना महिला यात्रु घाइते भएका छन् । उनीहरुको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ । अहिले सो क्षेत्र तनावग्रस्त छ ।

Leave A Reply

Your email address will not be published.