कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री

0

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै उहाँले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताउनुभयो ।

“अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ । पछिल्ला दिनमा लोकतन्त्र कताकता नेतातन्त्रजस्तो देखिँदै गएको थियो । राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको डरलाग्दो वैचारिक बनिरहेको थियो । त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास र घृणा बढाइरहेको थियो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “तर नक्कली भुटानी शरणार्थी, ललिता निवास, बाँसबारी, बालमन्दिर, सुनकाण्डलगायतका प्रकरणमा सरकारको निर्भीक र निष्पक्ष कारबाहीले जनतामा लोकतन्त्रप्रति ठुलो भरोसा जागेको छ ।”

सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सुरुदेखिको निरन्तर सहयात्राका लागि जसपा नेपालप्रति आभारी छु । सरकारलाई समर्थन वा विरोध गर्ने उसको राजनीतिक अधिकारको पनि सम्मान गर्छु तर राष्ट्रका चुनौतीहरूको सामना गर्न फेरि पनि मिलेर अगाडि बढ्न आग्रह गर्छु ।”

नीति तथा कार्यक्रम पेस भइसकेको र बजेटको छलफल चलिरहेको अवस्थामा सरकारका दीर्घकालीन प्रतिबद्धताहरू सम्मानित संसद्को साथ र सहयोगबिना पूरा हुन नसक्ने पनि उहाँले बताउनुभयो । “सार्वभौम संसद्को लामो समय लिन चाहन्न । यति भन्छु, प्रधानमन्त्रीका रूपमा मैले संसद्को पहिलो सम्बोधनमै प्रतिबद्धता जनाएको थिएँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “म आज सरकारका उपलब्धिहरूको रिपोर्टकार्डकै आधारमा यो सम्मानित संसद्को विश्वासको मत माग्दछु ।”

Leave A Reply

Your email address will not be published.