जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

0

काठमाडौँ \  जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले बताउनुभयो ।

सांसद यादवले जनता समाजवादी पार्टी, नेपाल फुटाउन राज्य नै लागेको आरोप समेत लगाउनुभयो । उहाँले सरकारकै नेतृत्वकर्ताहरू पार्टी विभाजन गराउनका लागि लागेको आरोप लगाउँदै त्यही सरकारमा बसिरहन उचित नरहेकाले सरकारबाट नैतिकताका आधारमा बाहिरिएको जानकारी दिनुभयो । उहाँले सरकारले गैरजिम्मेवारी काम गरेको र त्यसको विरुद्धमा आफूहरू लाग्ने चेतावनी समेत दिनुभयो ।

‘‘सरकारकै नेतृत्वकर्ताहरू पार्टी विभाजन गराउनका लागि लाग्नुभयो र पार्टी विभाजनपश्चात् राष्ट्रिय राजनीतिमा जुन घटनाहरू भइरहेका छन्, त्यहाँ नैतिक रूपले बसिरहन मिलेन । हामी १२ सिट लिएर सरकारमा सहभागी भएका थियौँ । एउटा निश्चित उद्देश्यका साथ सरकारमा सहभागी भएका थियौँ । तर दुर्भाग्यपूर्ण हाम्रो पार्टी विभाजन भयो ।

नैतिक रूपमा सरकारबाट राजीनामा गरेर समर्थन फिर्ता लिएका छौँ ।,’’ सांसद यादवले भन्नुभयो, ‘‘१२ को सङ्ख्या लिएर गएका थियौँ, त्यो नरहेपछि त्यहाँ राजनीतिक र नैतिक रूपमा पनि बसिरहन उचित लागेन । सरकारले गैरजिम्मेवारी काम गर्‍यो त्यसको विरुद्धमा हामी लाग्नेछौँ । आन्तरिक शक्ति सञ्चय पहिला गर्नेछौँ । आन्तरिक किचलो छ, विभाजनले गर्दा ।’’ सांसद यादवले विभाजित भएर जाने नेताहरूले आफूहरूको आन्दोलनमा घाटा हुने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.