आयोजना कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नेछ : प्रधानमन्त्री

0

सिन्धुली \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको छ ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ छिचोलियो ‘ब्रेक–थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

“बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेश प्रदेशको पाँच जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवम् जलविद्युत् उत्पादन हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आज सुरूङको ब्रेक–थ्रु भएको छ, यस आयोजनाको बाँकी काम निर्धारित समयमा नै सम्पन्न हुनेछ ।”

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सुरूङमार्गको ब्रेक–थ्रु सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ ।”

कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा झण्डै एकतिहाइ योगदान रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले देशका लागि आवश्यक पर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिबी न्यूनीकरण गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताउनुभयो ।

नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्नुहुँदै  प्रधानमन्त्री प्रचण्डले तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेको बताउनुभयो । हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने बताउँदै उहाँले सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानीलगायत अन्य प्रयोजनमा प्रयोगगरी राष्ट्रको समग्र विकास गरिने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.