सरकारको प्रारम्भिक काम सकारात्मक छ : एमाले

0

काठमाडौं \  सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक रहेको बताएको छ । पार्टी मुख्यालय च्यासलमा आइतबार अपराह्न बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक रहेको निष्कर्ष निस्केको बताउनुभएको हो ।

बैठकले जनतामा अझ विश्वास जगाउने गरी काम गर्न पनि सरकारलाई सुझाव दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँले अहिलेको निराशालाई चिर्दै देशलाई बनाउन सकिन्छ भन्ने विश्वास जगाउने गरी सरकारलाई अगाडि बढाउने कुरामा एमाले केन्द्रित रहेको दाबी गर्नुभयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘हामीले संक्षेपमा पछिल्लो राजनीतिक परिस्थितिबारेमा पनि चर्चा गरेका छौँ । गएको फागुन २१ गते नयाँ सत्ता समीकरण प्रारम्भ भएको छ । समग्रमा यो सकारात्मक छ । यसले देश जसरी बहुआयामिक समस्यामा फस्दै गएको थियो । त्यहाँबाट सही दिशातिर ल्याउन सफल भएको छ ।’

सरकारको कामलाई प्रभावकारी बनाउँदै हामीले हाम्रो राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, लोकतन्त्रलाई जनताको जीवनसँग जोडने, भ्रष्टाचारविरुद्धको अभियानलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । सरकारले आफ्नो कामबाट जनतामा विश्वास जगाउन बाँकी रहेको उहाँले चर्चा गर्नुभयो ।

‘अहिलेको निराशालाई चिर्दै देश बनाउन सकिन्छ भन्ने विश्वास जगाउने गरी सरकारलाई अगाडि बढाउने कुरामा हामी केन्द्रित छौँ । बैठकमा हामीले त्यही विषयमा छलफल गरेको छौँ’ ज्ञवालीले थप्नुभयो, ‘सरकारका प्रारम्भिक गतिविधिहरू, अहिले सुरु गरेको स्पिरिटहरु सकारात्मक छन् । अझ बढी सरकारले जनतालाई विश्वास जगाउने गरी काममा गति ल्याओस् भन्ने अपेक्षा छ ।’

Leave A Reply

Your email address will not be published.