सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्छ : प्रधानमन्त्री

0

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताउनुभएको छ ।

नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा सोमबार  आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

“सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता विस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाङ्ख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

सुरूङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने विश्वास व्यक्त प्रधानमन्त्री प्रचण्डले ट्राफिक र सडक सुरक्षामा सुधार गरी सङ्घीय राजधानी काठमाडौं र देशका अन्य प्रमुख शहरहरूबिचको सहज यातायात सञ्जालमा योगदान पुर्‍याउने बताउनुभयो ।

“यस सुरूङमार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरूङ सम्बन्धी दस्तावेज निर्माण हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसले नेपाललाई सुरूङ युगमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्नेछ ।” उहाँले आगामी योजनामा राष्ट्रिय राजमार्गहरूमा सुरूङमार्ग, फ्लाइओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने सरकारको नीति रहने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.