इलाम उपनिर्वाचन : सुहाङसहित सात जनाको मनोनयन दर्ता

0

इलाम \  आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराउनुभएको छ ।

सुहाङसहित हालसम्म सात जनाले मनोनयन दर्ता गराइसकेका छन् । बाजागाजा र झाँकीसहित निर्वाचन कार्यालयमा पुग्नुभएका सुहाङको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धीरेन्द्र शर्मा रमण रहनुभएको छ । सुहाङले मनोनयन दर्तामा जानुअघि भानुरत्न चोक इलाममा रहेको सहिद रत्नकुमार वान्तता, सहिद बम वान्तता र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप)ले मनोनयन दर्ता गराउनुभएको थियो । नेपाल मजदुर किसान पार्टीका श्याम दर्जीले पनि मनोनयन दर्ता गर्नुभएको छ । डाकप्रसाद गौतमले स्वतन्त्ररुपमा मनोनयन दर्ता गराउनुभएको छ । पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिमले मनोनयन दर्ता गराउनुभएको छ  ।

एकीकृत समाजवादीका जीतबहादुर राईले पनि मनोनयन दर्ता गराउनुभएको छ । रास्वपाबाट केही बेरमा मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्ने तयारी गर्नुभएको छ । नेपाली कांग्रेसले मनोनयन दर्ता गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता भइरहेको हो । रासस 

Leave A Reply

Your email address will not be published.